काठमाडौं : निजामती कर्मचारीको उमेर हद अन्ततः ६० वर्ष पुर्याइएको छ ।
हाल निजामती सेवाका कर्मचारीको उमेर हद ५८ बर्ष कायम रहेकोमा २ बर्ष उमेर थप गरी उमेद हद ६० पुर्याइएको हो ।
संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले कर्मचारीको अवकास उमेर हद ६० वर्ष बनाउने निर्णय गरेपछि २०२१ सालदेखि पूर्ण रुपमा लागू हुने गरी कानूनी व्यवस्था गर्ने निर्णय गरेको छ ।
हाल स्वास्थ्य सेवाअन्तर्गतका कर्मचारी र शिक्षकको उमेर हद ६० वर्ष रहेको छ भने न्यायाधीशको उमेर हद ६३ वर्ष रहेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारीले सबै राष्ट्रसेवकको उमेरमा समानता कायम गर्नुपर्ने प्रस्ताव समितिसमक्ष राखेका थिए ।
संघीय निजामती सेवा ऐनमा कर्मचारीको उमेर हद ६० भएमा प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐनमा पनि कर्मचारीको उमेर हद ६० वर्ष नै हुनेछ ।
संघीय निजामती सेवा ऐन प्रदेश र स्थानीय सेवा ऐनको मार्गदर्शक ऐन हुनेछ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुरुमा संघीय निजामती सेवा विधेयकमा कर्मचारीको उमेर हद हाल कायम रहेकै ५८ वर्ष बनाउन प्रस्ताव गरेको थियो ।
तर, हाल सो विधेयकमाथि छलफल गर्दा सांसदहरू कर्मचारीको उमेर हद ५८ वर्षबाट बढाएर ६० वर्ष पु¥याउन सहमत भएको स्रोतले जानकारी दिएको छ ।
