काठमाडौँ: राष्ट्रिय वाणिज्य बैंकद्धारा जर्मन सरकारको सहयोगमा संचालित ‘इनर्जी एफिसियन्सी प्रोग्राम नेपाल’ को अनुदान सहयोग कार्यक्रम अन्र्तगत शिवम सिमेन्ट लिमिटेडलाई एक करोड रुपैंयाको अनुदान दिएको छ ।
बैंकले मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गरेकोले स्वीकृत अनुदान कार्यविधिअनुसार एक करोड रुपैयाँको अनुदान सहयोग गरेको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले शिवम सिमेन्टका महाप्रबन्धक नवलकिशोर चौधरीलाई एक कार्यक्रमकाबीच चेक हस्तान्तरण गरेका हुन् ।
नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौताबमोजिम राष्ट्रिय वाणिज्य बैंकले उक्त कार्यक्रम कार्यान्वयन गर्न प्रोजेक्ट एक्जिक्युटिङ एजेन्सीको रुपमा सहायतासम्बन्धी कार्य गर्ने गरेको छ।
यस आयोजना अन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशत सम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराइने छ ।
यस आयोजना अन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्विकृत अनुदान कार्यविधि भित्र रही अधिकतम रु. १ करोड सम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ ।
