काठमाडौँ: रौतहट जिल्ला अदालतले जेल चलान गर्ने आदेश दिएलगत्तै मोहम्मद आफताब आलमलाई शुक्रबार मध्यरातमा काठमाडौं ल्याइएको छ । उनलाई ललितपुरस्थित नख्खु कारागारमा राखिएको छ ।
जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको कांग्रेस सांसद मोहम्मद अफताब आलमलाई शुक्रबार राती नै काठमाडौं ल्याइएको छ।
१२ वर्षअघि बम विस्फोट एवं ईंटाभट्टामा जिउँदै मानिस जलाएको आरोप लागेका आलमलाई शुक्रबार जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
उनलाई सुरक्षा सतर्कताका कारण राती नै काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।
८ दिन लामो थुनछेक बहस सुनेपछि शुक्रबार न्यायाधीश दीपक ढकालको इजलासले सो आदेश दिएको थियो।
अब अदालतले सरकारी साक्षी र आलमका साक्षीहरूको बयान लिने छ। मुद्दाको मूल विषयमा पनि बहस हुने छ। त्यसपछिमात्रै आलमको मुद्दामा अदालतले फैसला गर्ने छ।
