काठमाडौं : भारतको आसामस्थित एक कोठीबाट जबरर्जस्ती यौनधन्दामा सामेल गराइएका सातजना नेपाली महिलाको उद्धार गरिएको छ ।
उद्धार गरिएकाहरुमा चार जना बालिकासमेत छन् ।
मानव बेचबिखनविरुद्ध कार्यरत संस्था शक्ति समूहको समन्वयमा त्यहाँको प्रहरीले लेन १४ को नामबाट चर्चित सिल्चारको एक कुख्यात बेश्यालयबाट उनीहरुको उद्धार गरेको हो ।
सिल्चारको सो कोठीमा नेपाली युवती र किशोरीहरुलाई जबरजस्ती यौन धन्दामा लगाइएको सूचना पुष्टि भएपछि नेपालबाट मानव बेचबिखनविरुद्ध कार्यरत संस्था शक्ति समूहको एउटा टोली आसाम पुगेको थियो ।
दिल्लीबाटै भारतीय अधिकारीहरुसँग समन्वय गरेर पुगेको शक्ति समूहको टोली प्रहरीसहित पुगेर हिजो सोमवार साँझ सात जना नेपाली महिलाको उद्धार गरिएको हो ।
उद्दार गरिएकामध्ये तीन जना २० वर्ष मुनिका रहेको र चार जना बालिकाहरु रहेको शक्ति समूहका तालिम तथा कानुनी परियोजना संयोजक दिलिप कोइरालाले जानकारी दिए ।
गत जुलाइमा एकजना नेपाली किशोरीको सोही ठाउँबाट उद्धार गरिएको थियो ।
उनकै सूचनाका आधारमा त्यहाँ अरु धेरै नेपाली किशोरी र युवतीलाई यौनकार्यमा लगाइएको पुष्टि भएपछि शक्ति समूहको सात जनाको टोली आसाम पुगेको थियो ।
ती युवती र किशोरीलाई कोठीसम्म लैजाने र जबरजस्ती यौन धन्दामा लगाउने लक्ष्मी तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
उनी कोठी सञ्चालिका हुन् कि दलालमात्र हुन् भन्ने खुलेको छैन ।
उद्धार गरिएकाहरुलाई आजै त्यहाँको स्थानीय अदालतमा उपस्थित गराउने र कानुनी प्रक्रिया पूरा गरी स्वदेश फर्काउने पहल भइरहेको शक्ति समूहले जनाएको छ ।
संयोजक कोइरालाले दिल्लीस्थित दूतावासलाई जानकारी दिएर उद्धार गरिएको बताएका छन् ।
