काठमाडौं : गरिमा धानको बीउका कारण तेइस करोड बराबरको धान उत्पादनमा क्षति भएको छ ।

 

गरिमा धानको बीउबाट हुन पुगेको क्षति यकिन गर्न गठित समितिको प्रतिवेदन अनुसार देशका १३ वटा जिल्लामा झण्डै २३ करोड बराबरको क्षति भएको छ । यद्यपि उत्पादन लागतका हिसाबले १७ करोड क्षतिपूर्ती दिनुपर्ने प्रतिवेदनले देखाएको छ ।

 

समितिले १३ वटा जिल्लाको ६० वटा पालिकामा सर्वेक्षण गर्दा एक हजार ७८५ हेक्टर जमिनमा बीउको कारणबाट क्षति भएको भेट्टाएको छ ।

 

यसबाट आठ हजार पाँच सय टन धान उत्पादन कमी भएको प्रतिवेदनले जनाएको छ ।

 

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार उक्त समितीले मन्त्रालयलाई क्षतिपूर्ती सम्बन्धी प्रतिवेदन बुझाएको र मन्त्रालयले यससम्बन्धी छिट्टै निर्णय गर्ने छ ।

 

गरिमा धानको बीउबाट कैलाली, कञ्चनपुर, दाङ,बर्दिया, चितवन , मकवानपुर, तनहुँ र नुवाकोट लगायतका जिल्लाहरुका ६ हजार ९१५ घरधुरी प्रभावित भएका थिए ।

 

यही प्रभावित क्षेत्रबाट आएको गुनासोपछि घटना छानविन गर्न बीउविजन गुणस्तर विभागका प्रमुख मदन थापाको संयोजकत्वमा कात्तिक ७ गते क्षतिपूर्ती यकिन समिति गठन भएको थियो ।

 

बीउविजन नियमावली व्यवस्थापन अनुसार कृषकलाई लागतको आधारमा अथवा उत्पादनका हिसाबले क्षतिपूर्ती दिनुपर्ने प्रावधान छ । यद्यपि यसबारे मन्त्रालयले छिट्टै निर्णय गरी मन्त्रीपरिषदमा क्षतिपूर्ती दिने सम्बन्धी निर्णय गर्ने मन्त्रालयले जनाएको छ ।

 

नियमावली अनुसार बीउविजन वितरण गर्ने कम्पनीबाट क्षतिपूर्ती भराउनु पर्ने व्यवस्था भएपनि तत्काल किसानलाई राहत दिन राज्यबाट क्षतिपूर्ती दिइ राज्यले उक्त कम्पनीसंग कानूनी लडाइँ लड्ने मन्त्रालय स्रोतले बताएको छ ।

 

गरिमाको बीउ, दाङको सनराइज एग्रीकल्चर रिसर्च सेन्टरले भारतको रिनोभा सिड्स हैदरावादबाट आयात गरी देशका विभिन्न ठाउँमा एग्रोभेट पसल मार्फत बेचविखन गरेको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version