काठमाडौं : नागरिक लगानी कोषमा कार्यरत कर्मचारीलाई धितोपत्रको दोस्रो बजारबाट शेयर खरिद बिक्री गर्न बन्देज लगाइएको छ।

 

नागरिक लगानी कोष कर्मचारी आचार संहिता निर्देशिका, २०७६ जारी गर्दै कोषले आफ्ना कर्मचारीलाई दोस्रो बजारबाट शेयर कारोबार गर्न रोक लगाएको हो।

 

उक्त आचार संहिता अनुसार कोषका कर्मचारीको एकाघरको परिवारले दोस्रो बजारबाट शेयर खरिद बिक्री गर्न हुँदैन। तर विगतमा खरिद गरिएको शेयर बिक्री गर्न भने सकिने व्यवस्था छ।

 

कर्मचारीहरुले दोस्रो बजारबाट शेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था गरिएको उक्त आचार संहिता माथि असन्तुष्टि व्यक्त गरेका छन्।

 

राष्ट्रको आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गरि पुँजी वृद्धि गर्ने अभिप्रायले खटिएका कर्मचारीहरुले नै अर्थतन्त्रको प्रमुख सूचक पूँजी बजारमा कारोबार गर्न रोक लगाउनु आफैँ तथ्यगत नभएको कर्मचारीहरुको भनाई छ।

 

नागरिक लगानी कोष आफैँले शेयर खरिद बिक्रीको काम गर्ने भएकाले कर्मचारीहरुले आफ्नो फाइदा हेर्दा कोषलाई घाटा हुन सक्ने भएकाले कर्मचारी आंचार सहितामा उक्त विषय समावेश गराईएको कोषका कार्यकारी अधिकृत रमण नेपालले बताए।

 

नेपालले भने, आचार संहिता कुनै कानुन होईन। कोषका कर्मचारी आफैँले आफ्नो पेशा प्रति जिम्मेवार र अनुशासनमा रहनका लागि ल्याईएको हो। कर्मचारीले कोष प्रति आफूले गर्नुपर्ने काम कर्तव्यलाई अझ थप जिम्मेवार बनाउनका लागि उक्त आंचार संहिता जारी गरिएको हो।

 

धितोपत्र सम्बन्धी कानुनले पूँजी बजार सम्बन्धी नियमन निकायमा काम गर्ने कर्मचारीहरुलाई शेयर बजारमा लगानी गर्न रोक लगाएको छ।

तर नागरिक लगानी कोषले कुनै निकायको नियमन गरेको छैन। यस कारण आफ्ना कर्मचारीलाई कारोबार गर्नबाट रोक लगाउनुको कुनै औचित्य नभएको विश्लेषकहरुको भनाई छ।

 

कोषले आफुले विभिन्न संघ सस्थाबाट संकलन गरेको बचत रकमलाई उचित परिचालन गर्ने गर्दछ। उक्त रकमबाट कोष स्वयमले संस्थागत लगानीकर्ताको रुपमा लगानी गर्न पाउने व्यवस्था छ।

 

कोषले विभिन्न संगठित संघ(संस्थामा कार्यरत कर्मचारी तथा संगठित संघ(संस्थाहरुबाट केहि प्रतिशत रकम संकलन गर्दछ। उक्त संकलित बचत रकमलाई दक्ष र व्यावसायिक ढंगबाट लगानी व्यवस्थापन गर्दै प्रतिफल आर्जन गरेको हुन्छ।

 

जस अन्तर्गत कोषले पूँजी बजार व्यवस्थित तथा स्थिर बनाउन सहायक कम्पनी खडा गरी स्टक डिलरको काम गर्ने तयारीमा समेत लागेको छ ।

 

साथै कोषले पूँजी बजार सम्बन्धी मर्चेन्ट बैंकरको रूपमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य, शेयर रजिष्ट्रारको कार्य र धितोपत्र प्रत्याभुतिको कार्य गर्दै आएको छ भने विभिन्न संगठित संस्थाहरुको पूँजीको स्वरुप सेक्यूरिटीजहरुको मूल्य, कम्पनीहरुको मर्जर, प्राप्ति, निजीकरण तथा अन्य सम्बन्धित क्षेत्रमा परामर्श दिने गरेको पाइन्छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version