काठमाडौं:भूकम्पले भत्काएको धरहराको पुनर्निर्माणले तीव्रता पाएको छ। शिलान्यास भएको ११ महिनामा ३२ प्रतिशत पुनर्निर्माण सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सन् २०२० अक्टुबरसम्म धरहरा हस्तान्तरण गर्ने लक्ष्य छ।

प्राधिकरणका सम्पदाविद् राजु मानन्धर धरहरा पुनर्निर्माण एक वर्षमा सकिने बताउँछन्। उनका अनुसार अब बन्ने धरहरा २२ तले हुनेछ, जुन २४५ फिट अग्लो हुनेछ।

अबको १५ दिनमा धरहराको एक तला ढलान गर्ने प्राधिकरणको लक्ष्य छ। अहिले हुलाकको घर भत्काएर ३ तला अन्डरग्राउन्ड निर्माण भइरहेको छ। अब बन्ने धरहरा भूकम्प प्रतिरोधी हुने उनले बताए।

धरहराको बेसमेन्टमा तीन तलाको सानो घर हुने छ। तीन तले पार्किङमा झण्डै एक हजार सवारीसाधन पार्किङ गर्न सकिने छ। यस्तै, झण्डै चार सय गाडी र ६ सय मोटरसाइकल राख्न सकिने छ। धरहरा परिसरमा पार्किङसहित रेस्टुराँ, बगैंचा, पुस्तकालयलगायत हुनेछ। पार्कभित्र बस्ने ठाउँ, ढुंगेधारा, हरियाली र चमेना गृह बनाइनेछ। भूकम्पले भत्काएको धरहरा सिसाको फ्रेम भित्र राखिने छ।

सरकारले ‘मेरो धरहरा मै बनाउँछु’ भन्ने नारा तय गरी पुनर्निर्माण थालेको हो। नेपाल टेलिकमको एक अर्ब र प्राधिकरणको दुई अर्ब ४८ करोड रूपैयाँ लगानीमा धरहरा पुनर्निर्माण हुन लागेको हो, जसमा अहिलेसम्म ६५ करोड रूपैयाँ खर्च भइसकेको प्राधिकरणले जनाएको छ। २०७२ सालको भूकम्पले धरहरा भत्काएको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version