भक्तपुर: महानगरीय प्रहरी परिसर भक्तपुरले लागुऔषध कारोवारीसहित विभिन्न घटनामा संलग्न ११ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

प्रहरी परिसर भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा घटनामा संलग्न ओरोपीलाई सार्वजनिक गर्दै प्रहरी उपरीक्षक हिमालय श्रेष्ठले लागुऔषध बिक्री वितरण गर्ने र किन्नेलाई पक्राउ गरेको बताउनुभयो ।

पक्राउपर्नेमा भक्तपुर नगरपालिका–५ बस्ने ५४ वर्षीय चन्द्रबहादुर द्यौला, २१ वर्षीया श्याम किलम्बु, सूर्यविनायक नगरपालिका–६ बस्ने २५ वर्षीय दीपेश सुकुभुटु, सिन्धुपाल्चोक बलेफी गाउँपालिका–३ घर भई भक्तपुर नगरपालिका–७ च्यामासिंह बस्ने २२ वर्षीय कृष्णबहादुर मगर, काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१ रानीकोट घर भई हाल सूर्यविनायक चोक बस्ने ३१ वर्षीय प्रेम तामाङ रहेका छन् ।

प्रहरीले भक्तपुर नगरपालिका–५ अरनिको सभाहलसँगै रहेको जगन्नाथ मन्दिर परिसरभित्र द्यौलाले लागुपदार्थ बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारी लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी प्रहरीले काठ चोरी गरेर लैजाँदै गर्दा चोरीको मुख्य नाइकेसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा काभ्रेपलाञ्चोक फूलबारी–३ घर भई ललितपुर ग्वार्को बस्ने २२ वर्षीय विकास तामाङ, दोलखा गौरीशंकर–६ घर भई सूर्यविनायक नगरपालिका–४ बस्ने २३ वर्षीय भीम तामाङ, सिन्धुली घ्याङ्लेक–७ घर भई सुनपा–४ बस्ने २० वर्षीय राजकुमार थोकर, सोही ठाउँका १७ वर्षीय टल्के थोकर, रामेछाप सुनपाती–२ घर भई हाल ललितपुर ज्यासल बस्ने ३२ वर्षीय दीपक खपांगी रहेका छन् ।

प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले भक्तपुर सूर्यविनायक नगरपालिका–४, दधिकोट, एकताचोक खाँडादेवी फर्निचर उद्योगबाट सालको काठ चोरी गरी बा१ख ८६१० नं को मिनीट्रकमा लोड गरी लैजाँदै गर्दा प्रहरीको गस्ती टोलीले सुनपा–२ बालकोट चोकबाट पक्राउ गरी चोरी मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जानकारी दिनुभयो ।

त्यसैगरी मध्यपुरथिमि नगरपालिका–६ गाँखुस्थित नवीनकुमार बुढाथोकीको घरबाट नगद तथा सुनचाँदीको गरगहना चोरी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले दोलखा वैदेश्वर गापा–७ घर भई हाल चाँगुनारायण नपा–१ दुवाकोट बस्ने ४० वर्षीय पशुपति रिमाललाई पक्राउ गरेको छ ।

प्रहरीले रिमालको घरबाट चोरी भएको सुनको सिक्री दुई तोला ५१ लालको दुई थान, सुनको मंगलसुत्र दुई तोला २५ लालको थान एक, सुनको हातमा लगाउने बाला एक तोला १६ लालको थान एक, सुनको बेरुवा औँठी एक तोलाको थान एक, चाँदीको टीकादानी १८ तोला ४५ लालको थान एक, विभिन्न कम्पनीका मोबाइल थान पाँच, जुत्ता एक थान, सिमकार्ड दुई थान र फलामको छिनो एक थान बरामद गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version