काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भइरहेको बताउनुभएको छ ।

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेण्टरको सघन उपचार कक्षबाट भिडियो कन्फरेन्समार्फत आज उहाँले मुख्य शल्यक्रियापछि पनि आफू उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने तथा समाचारहरु हेर्न सक्ने अवस्थामा रहेको जानकारी दिनुभयो ।

“एपेण्डिसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन, यो अचानक आइलाग्छ, मलाई पनि अप्रत्याशित रुपमा त्यसैगरी आइलाग्यो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “त्यसमा इन्फेक्सन भएछ, त्यो बाहिर पनि फैलियो, त्यसमा मात्रै इन्फेक्सन सीमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो, बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनुप¥यो ।”

प्रधानमन्त्री ओलीले उपचारका लागि हप्ता–दश दिन लाग्ने भएको र स्वास्थ्यमा राम्ररी सुधार भइरहेको जानकारी दिँदै भन्नुभयो, “एउटा मेजर अपरेशनपछि तपाईंहरु देखिरहनुभएको छ, म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु ।”

प्रधानमन्त्री ओलीले आफूले आइतबारको १३ औँ दक्षिण एशियाली खेलकुद(साग) को उद्घाटन समारोह आइप्याडमा हेरेको उल्लेख गर्दै भन्नुभयो, “मैले १३ आँैं ‘साग’ को उद्घाटन समारोह पनि पूरै हेरेँ, हुन सक्छ कि सक्दैन भन्ने दुविधा समाप्त भएकामा खुशी लाग्या छ, म राष्ट्रपतिज्यूलाई उद्घाटन गरिदिनुभएकोमा, अरु सबैलाई सहभागी हुनु भएकोमा धन्यवाद भन्न चाहन्छु ।” उहाँले मैत्रीपूर्ण खेलबाट देशको इज्जत तथा क्षेत्रीय मित्रता अगाडि बढाउन नेपाली एवं सार्क क्षेत्रका खेलाडी सबैलाई आग्रह पनि गर्नुभएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version