काठमाडौं : १३औं सागको दोस्रो दिन सोमबार नेपालले १५ स्वर्ण पदक जितेको छ । नेपालले कराँतेमा सात र तेक्वान्दोमा सात स्वर्ण पदक हात पारेको हो । सोमबार नै सुरु भएका यी दुवै खेलबाट नेपालले बढी पदकको आशा गरेको छ ।अर्को एक पदक पोखरामा सम्पन्न ट्रायथलनमा सोनु गुरुङले जितिन् ।
कराँतेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयषा शाक्यले दुई/दुई स्वर्ण पदक हात पारे । मन्डेकाजीले पुरुष एकल काता र टिम कातामा स्वर्ण जितेका हुन् । टिम कातामा उनलाई महसुस मोक्तान र प्रवीण मानन्धरले साथ दिएका थिए । तेक्वान्दोमा आयषाले महिला एकल पुम्से २९ वर्षभन्दा माथि र पेयर पुम्सेमा स्वर्ण पदक जितिन् । पेयर पुम्सेमा उनलाई सञ्जीवकुमार ओझाले साथ दिएका थिए ।
मन्डेकाजी र आयषा दुवै फरक परिस्थितिबीच प्रतियोगितामा सहभागी भएका खेलाडी हुन् । ३५ वर्षीय मन्डेकाजी कराँतेको कातामा विशेष दख्खल राख्छन् । उनले सागमा पदक जित्न १० वर्ष निरन्तर संघर्ष गर्नुप¥यो । यसअघिका दुई साग उनका लागि सुखद रहेन । सन् २०१० मा बंगलादेशमा ११औं साग हुँदा उनी २६ वर्ष पुगिसकेका थिए । त्यतिबेला उनी सागका लागि छनोट पनि भए ।
