बाँके: बाँकेमा साना तथा ठूला पूर्वाधार निर्माणका काम अघि बढिरहेका छन् । तर ती आयोजनाहरु नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवाको अभावमा काम गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

 

 

चालू आर्थिक वर्षको पाँच महिना बितिसक्दासमेत नदीजन्य पदार्थको अभाव भएको छ । हरेक वर्षजस्तै यस वर्ष पनि जिल्लामा नदीजन्य पदार्थको अभाव देखिएपछि आयोजनाहरु सञ्चालनमा समस्या देखिएको छ । नदीजन्य पदार्थको सबैभन्दा ठूलो स्रोत रहेको राप्तीसोनारी गाउँपालिकाले समयमै ठेक्काको टुङ्गो नलगाउँदा जिल्लामा सञ्चालित आयोजनाहरु प्रभावित हुने भएका छन् ।

 

 

गत वर्ष वातावरणीय प्रभाव मूल्याङ्कनका कारणले फागुनबाट मात्रै नदीजन्य पदार्थको ठेक्का सम्झौता भई निकासा शुरु भएको थियो । यस वर्ष पनि मङ्सिर बितेपछि मात्रै नदीजन्य पदार्थको ठेक्का प्रक्रिया पूरा हुने सम्भावना देखिएको छ ।

 

“जिल्लामै निर्माण सामग्री प्राप्त हुन्छ भन्ने आधारमा निर्माण व्यवसायीले लागत अनुमान गरेको हुन्छ”, निर्माण व्यवसायी सङ्घ बाँकेका अध्यक्ष टेकबहादुर खड्काले बताए ।

 

 

उनले निर्माण सामग्री समयमै उपलब्ध नहुँदा निर्माण व्यवसायीले समयमै काम गर्न नसक्ने र नोक्सान व्यहोर्नुपर्ने अवस्था रहेको बताए । “निर्माण सामग्री उपलब्ध हुने सुनिश्चितता राज्यले गर्नुपर्छ, हामी त्यसको मूल्य तिर्छौं”, खड्का भन्छन । उनले अन्य जिल्लाबाट नदीजन्य पदार्थ ल्याउन सम्भव नरहेको बताउनुभयो । “जिल्लामै खपत हुने भन्दै अन्य जिल्लाले निर्माण सामग्री किनेर ल्याउन दिँदैनन्”, उनले थपे, “त्यसको मार निर्माण व्यवसायीलाई पर्छ ।”

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version