बाँके: नेपालगञ्ज उपमहानगरपालिकाको ‘उपमहानगर उज्यालो अभियान’ कार्यक्रम काठमाडौँ इनर्जी कम्पनीले सम्झौताअनुरुप काम सम्पन्न गर्न नसकेपछि कार्यक्रम अन्यौलमा पर्न गएको हो ।
नेपालगञ्जको बिपी चोकमा जडान गरिएको उच्च क्षमताको बत्ती ‘हाइमास्ट’ले देशभर चर्चा पाएको थियो । यसपछि उपमहानगरपालिकाले सो कार्यलाई निरन्तरता दिँदै विभिन्न आठ स्थानमा थप बत्ती जडानका लागि प्राथमिकता दिएको थियो ।
कम्पनीले बत्ती जडानका लागि तयार गरिएको जग (फाउण्डेशन) अलपत्र अवस्थामा छाडिदिएको छ । विसं २०७६ वैशाख ३१ गते सो ठेकेदार कम्पनी र नेपालगञ्ज उपमहानगरपालिकाबीच सम्झौता भएको थियो । सम्झौताअनुसार ठेकेदार कम्पनीले २०७६ असार २१ गतेभित्र बत्ती जडान गरिसक्नुपर्ने थियो । अहिले उपमहानगरपालिकाको रु ५८ लाख १६ हजार ३४३ रकम ‘फ्रिज’ भएको छ
रकम फ्रिज भएपछि ‘उपमहानगर उज्यालो अभियान’ अनिश्चित बनेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिए । उनले भने, “प्रदेश र नेपालगञ्ज उपमहानगरपालिकाको लागतमा विभिन्न स्थानमा ‘हाइमास्ट’ जडान गर्न रकम छुट्टएको हो, ठेकेदार कम्पनीले समयमै काम सम्पन्न नगर्दा विनियोजित बजेट फ्रिज भएको हो ।”
अहिले ठेकेदार कम्पनीले उपमहानगरपालिकासँग बत्ती जडानका लागि म्याद थप गर्न माग गरेको छ । समयमै कार्य सम्पन्न नगर्ने, सम्झौताअनुरुप पेश्की लिन डराउने ठेकेदारलाई म्याद थप गर्ने वा नगर्ने भन्ने विषयमा उपमहानगरपालिका अन्यौलमा छ । बत्ती जडानका लागि उपमहानगरपालिकाको बोर्डले छिट्टै निर्णय गर्ने र अवरुद्ध कार्य अघि बढ्ने प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले जानकारी दिए ।
