काठमाडौं: जलपरीको नामले चिनिने पौडी खेलाडी गौरिका सिंहले १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जित्दै १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा ४ वटा स्वर्ण पदक जित्न सफल भएकी छन् ।
उनले एउटै सागमा चार स्वर्ण जित्ने कीर्तिमान समेत आफ्नै नाममा बनाएकी छन् ।
गौरिकाले सोमबार १०० मिटर फ्रीस्टाइल ५८.१३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । उनले भारतीय खेलाडी शिवांगी शर्मालाई पछि पारिन् । शिवांगीको समय ५८.१५ सेकेन्ड रह्यो ।
सागमा ४ स्वर्ण पदक जितेर तेक्वान्दो खेलाडी दीपक विष्टले सबैभन्दा धेरै स्वर्ण जितेको कीर्तिमान बनाएका थिए । गौरिकाले दीपकसँग कीर्तिमान बराबरी गरेकी छन् । तर कुनै पनि एक सिजनको सागमा लगातार चार स्वर्ण जित्नेमा भने गौरीका नै पहिलो खेलाडी हुन् ।
तर बिष्टले चारवटा सागबाट ४ स्वर्ण जितेका थिए।
१३ औं सागमा गौरिकाले ४ स्वर्ण, २ रजत र २ कास्य पदक जितेकी छन् । नेपालले चालु सागमा ४९ वटा स्वर्ण पदक जितेको छ ।
