सप्तरी: अज्ञात रोगको सङ्क्रमणले बङ्गुर धमाधम मर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । रुपनी गाउँपालिका–६ मा किसानले सञ्चालन गरेको बङ्गुर फार्ममा सङ्क्रमण फैलिएर बङ्गुर मर्न थालेपछि किसान चिन्तित बनेका हुन् ।

 

तीन दिन बितिसक्दासमेत रोगको पहिचान हुन सकेको छैन । “रोगको पहिचान हुन नसक्दा उपचार नपाएर बङ्गुर मर्ने क्रम जारी छ”, फार्म सञ्चालक कुलानन्दप्रसाद चौधरीले भने, “रोगको पहिचान हुन नसक्दा उपचारसमेत गराउन पाइएको छैन ।” सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा पनि रोकथाममा चाँसो नदिँदा फार्म नै रित्तो हुँदै गएको चौधरीले दुःखेसो पोखे ।

 

शरीर काम्ने, तापक्रम बढ्ने, मुखबाट ¥याल बग्ने जस्ता लक्षण देखिएको एक घण्टा नबित्दै बङ्गुर मर्ने गरेका सञ्चालक चौधरीले बताए । बुधबारसम्म ५० बङ्गुर मरिसके पनि सम्बन्धित पक्ष गम्भीर नभएको उनको गुनासो छ । फार्ममा अझै १५ बङ्गुरमा सङ्क्रमण देखिएको छ । अज्ञात रोगबारे पशु स्वास्थ्य प्राविधिक र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले समेत फार्ममै आएर जानकारी लिए पनि रोग पहिचान हुन सकेको छैन ।

 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहाका प्रमुख फुलगेन यादवले सङ्क्रमण देखिएका बङ्गुरको रगत सङ्कलन गरी परीक्षणका लागि पठाइएको जानकारी दिए। परीक्षणको प्रतिवेदन आएलगत्तै ठोस उपचार गरिने जनाउँदै उनले तत्कालका लागि सङ्क्रमित क्षेत्रमा पशु स्वास्थ्य प्राविधिक टोली खटाइने बताए ।

 

बङ्गुर मर्ने क्रम नरोकिएपछि सो स्थानमा फार्म सञ्चालन गरेका अन्य किसानसमेत चिन्तित भएका छन् । सो स्थानमा मात्रै करोडौँ लगानी गरेर भद्रकुमारी लामा, सुबास राई, सञ्जमान तामाङ लगायतले बङ्गुर फार्म सञ्चालन गरेका छन् । पशु स्वास्थ्य सम्पर्क केन्द्रका प्रमुख सूर्यनारायण शर्माले रोग फैलिएको पुष्टि गर्दै सो बारे माथिल्लो निकायमा जानकारी गराइएको बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version