काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बसिरहेको छ ।
आज दिउँसो १ बजे बस्ने स्थायी समिति बैठकको प्रस्तावहरु तय गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो ।
सत्तारूढ नेकपा स्थायी समिति बैठक एक वर्षपछि आज बस्न लागेको हो । पार्टी विधानअनुसार स्थायी समिति बैठक तीनतीन महिनामा बस्नुपर्छ। यसअघि विभिन्न कारण देखाउँदै बैठक बस्न सकेको थिएन।
एक वर्षबीचमा सचिवालयले गरेको संगठनात्मक निर्णय अनुमोदन गराउन, वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन, राजनीतिक प्रतिवेदनअनुसार विधानको प्रस्तावना संशोधन गर्ने प्रस्ताव पारित गराउन र पार्टी कामको ६ महिने कार्ययोजना पारित गराउन स्थायी समिति बैठक बस्न लागेको हो।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार मंसिर २३ मा बसेको नेकपा सचिवालयले २९ गतेका लागि स्थायी समिति बैठक तोकेको थियो।
मंसिर २७ मा सचिवालय बैठक बस्ने भनिए पनि अध्यक्ष पुष्पकमल दाहालले बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रस्ताव तयार पार्न ढिलाइ भएका कारण बैठक सर्दै आएको थियो।
अध्यक्ष दाहालले आफूले तयार पारेको राजनीतिक प्रतिवेदनका विषयमा शनिबार अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए।
दुई अध्यक्षबीच स्थायी समिति बैठकमा लग्ने एजेन्डा र दाहालले तयार पारेको राजनीतिक प्रतिवेदनमा केन्द्रित रहेर छलफल भएको बालुवाटार स्रोतले बतायो।
एक वर्षपछि बस्न लागेको स्थायी समिति बैठकलाई शीर्ष नेतृत्वले दुई दिनभित्र पार्टीका संगठनात्मक काम र आगामी योजनाको निर्णय लिएर सक्ने तयारी छ।
स्थायी समिति सदस्यहरूले भने पार्टी कामको समग्र समीक्षा र आगामी योजनाका विषयमा समय लिएर छलफल गर्नुपर्ने पक्षमा छन्।
