भीमदत्तनगर: कञ्चनपुरको भीमदत्तनगरपालिका–१४ नयाँ कटानका तुलसीराम रानाले तरकारी खेती गर्न थालेको डेढ दशक भयो । धान, गहुँबाट भन्दा तरकारी खेतीमा बढी मुनाफा हुन थालेपछि व्यावसायिकरूपमा तरकारी खेती गरेर वार्षिक रु एक लाखभन्दा बढी आम्दानी गरिरहेका तुलसीरामले तरकारीबाटै छोराछोरीको पढाई र घर खर्च चलेको बताए ।

 

एकचालीस परिवार राना थारुको बसोबास रहेको नयाँ कटानमा ३८ परिवारले आफूसित भएको खेतमा तरकारी फलाएर भीमदत्तनगर बजार, सब्जीमण्डी र स्थानीय बस्तीमा बिक्री वितरण गर्दै आएका छन । गत वर्ष तरकारीबाट रु दुई लाख आम्दानी भएको बताउँदै तुलसीरामले तरकारीबाटै आएको आम्दानीले माइलो छोरा कपिललाई भीमदत्तनगरमा इन्जिनीयरिङ विषय पढाइरहेको बताए । “जेठो छोरा मजदुरीका लागि वैदेशिक रोजगारीमा छ”, उनले भने, “माइलो र कान्छो छोरोको खर्च तरकारी बेचेरै टरेको छ ।”

 

उनले अहिले काउली, बन्दा, हरियो खुर्सीनी, बैगुन र रायोलगायतका तरकारी फलाएको बताए । “वर्षमा हिउँदे र लहरे गरी दुई पटक तरकारी खेती हुन्छ”, रानाले भने, “विगत वर्षको तुलनामा तरकारीले राम्रो मुल्य पाउँदै गएको छ ।”

 

विसं २०६१ देखि चार कठ्ठा बारीमा तरकारी खेती गर्दैआउनुभएका उनले तत्कालीन जिल्ला कृषि विकास कार्यालयबाट दुई पटक गरी रु १ लाख २० हजार अनुदान रकमसमेत पाएको बताए यो । “कृषि कार्यालयको सहयोगले पनि व्यावसायिक खेती गर्न प्रेरणा मिल्यो”, उनले भने, “समयक्रम अनुसार आधुनिक प्रणालीबाट खेती पनि गरिरहेका छौँ ।”

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version