काठमाडौं : १४ औं महाधिवेशनको कार्यतालिकालाई केन्द्रीय समितिको बैठकको मुख्य एजेन्डा बनाउनुपर्ने भन्दै कांग्रेसका असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई मनाउने सभापति पक्षधर नेताहरुले आज पनि आफ्नो प्रयास जारी राखेका छन ।

आज सोमबार बिहान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडल पक्षका दोस्रो तहका नेताहरु प्रकाशमान सिंह निवास चाक्सीबारीमा जम्मा भएका थिए ।

बैठकमा देउवा पक्षबाट विमलेन्द्र निधि थिए भने पौडेल पक्षबाट सिंह, दिलेन्द्रप्रसाद बडु र हृदयराम थानी उपस्थित थिए।

बैठकपछि निधिले देउवालाई र सिंहले वरिष्ठ नेता पौडेललाई लगायतलाई छलफलका निष्कर्षहरुबारे ‘ब्रिफिङ’ गराउँदै छन्।

 

आ–आफ्ना पक्षका नेताहरुलाई ब्रिफिङ गरेपछि केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको तय भएको छ। यद्यपि आज दिउँसो १ बजे बैठक बोलाइएको भए पनि चाक्सीबारी बैठकपछि सहमतिमा बैठक सञ्चालन गर्ने सहमति भएका कारण केही ढिला गरि सुरु हुने बताइएको छ।

 

लगातार बैठक बहिस्कार गरिरहेको पौडेल पक्षले भ्रातृ संस्था र विभागमा हिस्सेदारीको नयाँ मागसमेत थपेको छ।

गत दुई दिनका बैठकमा अनुपस्थित रहेको उक्त पक्षले चार माग सम्बोधन गर्नुपर्ने अडान लिएको छ।

समग्रमा सहमति नभए सोमबारको केन्द्रीय समितिको बैठक पनि बहिष्कार गर्ने पौडेलपक्षीय केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिएका थिए।

पौडेल पक्षले उठाएका मागमा महाधिवेशन कार्यतालिका बैठकमा पेश गर्नुपर्ने, नेपाल विद्यार्थी संघ र तरुण दलमध्ये एकको नेतृत्व दिनुपर्ने, विभाग २८ मात्रै बनाउनुपर्ने र क्रियाशील सदस्यता छानबिन समिति गठन गर्नुपर्ने छन्।

बिहीबार र आइतबार बैठक बहिष्कार गरेको उक्त समूहका नेताहरुको आइतबार साँझ बसेको बैठकले थप मागसहित समग्रतामा सहमति हुनुपर्ने निर्णय गरेको हो।

महामन्त्री डा शशांक कोइरालाको निवास महाराजगन्जमा पौडेल पक्षका शीर्ष नेताहरुको आइतबार साँझ बैठक बसेको थियो।

केन्द्रीय समितिको बैठक बहिष्कार गरि पाथिभरा दर्शनमा पुगेका वरिष्ठ नेता पौडेल फर्केलगत्तै कोइराला निवासमा छलफल भएको थियो। बैठकमा पौडेल,कोइराला ,प्रकाशमान सिंह लगायतका नेताहरु थिए।

संस्थापन पक्षसँग वार्ताका लागि पौडेल पक्षले नेता सिंहको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएको छ। उक्त कार्यदलमा दिलेन्द्रप्रसाद बडु र हृदयराम थानीसमेत छन्। संस्थापन पक्षले उपसभापति विमलेन्द्र निधिलाई वार्ताका लागि खटाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version