काठमाडौं : नागरिकता संशोधन विधेयक (सीएए) को विरोधमा भारतको विभिन्न राज्यमा विरोध प्रदर्शन भइरहँदा त्यहाँको सरकारले दिल्लीका केही स्थानमा मोबाइल इन्टरनेट सेवा बन्द गरेको छ ।
टेलिकम सेवा प्रदायक संस्थाहरु जस्तै एयरटेल, भोडाफोन, आइडिया, जिओ, एमटिएनएल /बिएसएनएललाई दिल्लीका केही स्थानमा भ्वाइस, एसएमएस र इन्टरनेट सेवा बन्द गर्न आदेश दिइएको छ ।
इन्टरनेट चलाउनेहरुका अनुसार यतिबेला दिल्लीको सिलामपुर, इन्डिया गेट र आइटिओमा यी सेवा बन्द छन ।
दिल्लीमा पुलिसको आदेशमा यी सेवा बन्द गरिएको हो ।

यसैबीच दिल्ली, उत्तर प्रदेश र कर्नाटकमा स्थानीय प्रशासनले प्रदर्शनकारीहरु जम्मा हुने भनिएको ठाउँमा धारा १४४ लगाएको छ ।
यद्यपि दिल्लीमा भने धारा १४४ लगाइए पनि ठूलो संख्यामा प्रदर्शनकारीहरु लाल किल्लामा जम्मा भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रहरीले स्वराज पार्टीका नेता योगेन्द्र यादव लगायत कैयौँ व्यक्तिहरुलाई हिरासतमा लिएको छ ।
उता बेंग्लोरमा प्रदर्शनमा सहभागी भएका चर्चित इतिहासकार रामचन्द्र गुहालाई प्रहरीले हिरासतमा लिएको छ ।
कर्नाटकको दक्षिण कन्नड जिल्लामा २१ डिसेम्बरसम्म निषेधाज्ञा लागू गरिएको छ । तर पनि वामपन्थी दलले विरोध प्रदर्शन गरिरहेका छन् । हैदराबद, चेन्नई र चण्डीगढमा पनि प्रदर्शन चर्किएको छ ।
नागरिकता कानुनको विरोधमा वामपन्थी पार्टी र मुस्लिम संगठनले आज बिहीबार भारत बन्दको आह्वान गरेका छन् ।
सीपीएम, सीपीआई, सीपीआई ९एमएल०, फरवार्ड ब्लक र आएसपीले एक संयुक्त बयानमा भनेको छ– यस दौरान देशैभर विरोध प्रदर्शन गरिनेछ ।
यो विरोधलाई केही विपक्षी दलले पनि समर्थन गर्ने जनाएका छन् ।