काठमाडौं : जाडो महिना सुरु भएसंगै विद्युतीय पसलहरुमा हिटर किन्नेको घुइचो छ । चिसो छल्ने राम्रो र सजिलो उपकरणको रुपमा हामी सामान्यतया हिटरलाई नै लिने गर्छौ । हुन पनि यसको प्रयोग सरल नै छ, हिटरको तार विद्युतीय प्लगमा जोडे पछि न्यानो दिन सुरु गरि हाल्छ । सरल प्रयोग छ भन्दैमा यसलाई जथाभावी प्रयोग गर्न भने पक्कै मिल्दैन । धेरै सावधानी अपनाउन जरुरी पर्दछ हिटरको प्रयोग गर्दा ।

 

शरिरलाई केहि क्षणमा नै न्यानो दिए जस्तै एकैछिनको लापरबाहीले शरीरको तातोलाइ पनि क्षण भर मै सदाका लागि चिसोमा बदल्न सक्छ । जस्तै एक बर्ष अघि मात्रै काठमाडौँमा एक इन्जिनीयर दम्पतिले हिटर कै कारण अकालमा ज्यान गुमाउनु पर्यो । दुबैजना ढोका थुनेर चुकुल लगाइ हिटर बालेको बेला हिटरबाट ग्यास लिक भएको थियो र उपचारको क्रममा दुवैको मृत्यु भयो । आजभोलीकै घटना हेर्ने हो भने गत मङ्सिर ३० गते सोमबार कीर्तिपुर नगरपालिका–८ सुन्दरबजारमा आमा र दुई महिने छोराको निस्सासिएर मृत्यु भयो । सुत्केरी र नवजात शिशुलाई तातोको लागि राति मकलमा आगो बालेर सुत्दा यो अप्रिय घटना भएको थियो ।

 

अमेरिकाको एक तथ्यांक अनुसार कार्बनमोनोअक्साइड (सीओ)को कारण बर्सेनि इमर्जेन्सीमा १५ हजार पुग्छन् जस्मा ५ सयको मृत्यु हुने गर्छ भने बेलायतमा पनि त्यस्तै भयानक तथ्यांक छ । बिना कुनै संकेत र लक्षण तथा केही लक्षण नभै कसैको ज्यान लिन सक्ने अवस्था वा कारकका रूपमा यसलाई लिइन्छ भने नेपालमा यसको प्रकोप झनै बढी रहेको छ ।

 

युनाइटेड स्टेट्स इन्भारोमेन्टल प्रोटेकसन एजेन्सी– इपीएको अनुसार ग्याँस, तेल, कोइला,पेट्रोल वा दाउराजस्ता कार्बनयुक्त इन्धन हावाको कमीका कारण पूर्णरूपमा उड्न सक्दैनन् र सीओ ग्याँस उत्पन्न भई मात्रा बढ्छ । कुनै पनि इन्धन प्राकृतिक ग्याँस, प्रोपेन, पेट्रोल, तेल, मट्टीतेल, काठ वा कोइला डढाउदा कार्बनमोनोअक्साइड ग्याँस उत्पन्न हुन्छ । कार, पेट्रोल, डिजल, ग्याँसबाट चल्ने इन्जिन, स्टोभ, हिटिङ सिस्टमलगायतका उपकरणबाट सीओ ग्याँस निस्कन्छ । त्यसैमा कोठामा चिम्नी, वा भेन्टिलेसनको उचित व्यवस्था नहुँदा, रुम वा वाटर हिटर, कुकरजस्ता उपकरणको गलत तरिकाले फिट गरिनु, उचित रेखदेख नहुँदा सीओ ग्याँस निस्कदै जम्मा हुन्छ ।

 

कार्बनमोनोअक्साईड– सीओ रंगहीन, गन्धहीन त्यस्तो विषालु ग्याँस हो, जसलाई न त देख्न सकिन्छ न त चाख्न वा सुँघ्न नै सकिन्छ । त्यसैले चिम्नी नभएका उपकरण घरबाहिर प्रयोग गर्न बनाइएका हुन्छन् भन्ने हेक्का राख्नुपर्छ ।

 

झ्यालढोका सबै बन्द गरेर शरीरलाई न्यानो राख्न रातभर हिटर बालेरै छोडिदिदा कार्बनमोनोअक्साइड .(सीओ) ग्यास बढ्दै जाने गर्दछ भने कोठामा भएको अक्सिजनलाई छोप्दै लाने गर्दछ जसले गर्दा टाउको दुख्ने, श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, निसास्सिएको जस्तो हुने, वाकवाकी लाग्ने, बेहोश हुने, चिटचिट हुने र लामो समयसम्म यसको सम्पर्कमा रहे मृत्यु समेत हुने गरेको हेटौडा जिल्ला अस्पतालका चिकित्सक सागर काफ्ले बताउँछन ।

 

देख्न, सुघ्न र महसुस गर्न नसकिने कार्बनमोनोअक्साइड (सीओ) लाई मौन हत्यारा पनि भनिन्छ ।

 

डा काफ्लेका अनुसार हिटर वा ताप दिने साधनको प्रयोगमा सावधानी अपनाउन जरुरी छ । के के सावधानी अपनाउने त :

 

१ पुरै झ्याल ढोका बन्द गरी बाथरुममा नुहाउने, कोठामा भुसको आगो बाल्ने, मकल ताप्ने, मट्टीतेल तथा ग्याँसयुक्त हिटर, कोइला र आगो बाल्ने गर्नुहँुदैन ।

 

२ ग्याँस गिजर बाथरुम बाहिर राख्नु पर्छ ।

 

३ तातोपानी पहिले नै थापेर बाथरुमको ढोका बन्द गर्नुपर्छ । भेन्टिलेसन ठूला र खुला राख्नुपर्छ ।

 

यी साधनको प्रयोग गर्दा सावधानी अपनाउदा अपनाउँदै पनि टाउको दुख्ने, श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, निसास्सिएको जस्तो हुने, वाकवाकी लाग्ने, बेहोश हुने, चिटचिट हुने लक्षण देखा परे झ्यालढोका खोलेर तुरुन्तै ताजा हावाको सम्पर्कमा आउनु पर्दछ र हिटर, गिजर जस्ता उपकरण बन्द गर्नुपर्ने डा काफ्ले बताउँछन ।

 

काफ्लेले भने, ‘लक्षण वा बेहोशी देखिए तुरुन्त अस्पतालमा लग्नुपर्छ जहाँ सास र रगतमा सीओको स्तर नापी छिटै उपचार गरिन्छ ।’

 

उनले भने, ‘हिटरले तातो र सुक्खा हावा फ्याक्ने गर्दछ त्यसैले कुनै खुल्ला भाडामा पानि राख्नु पर्छ जसले गर्दा चिस्यान प्रणालीलाइ मदत मिल्छ ।’

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version