काठमाडौं : संघीय संसदको हिउँदे अधिवेशन आज शुक्रबारबाट सुरु हुँदैछ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन अपरान्ह ४ बजे आव्हान गरेकी हुन ।
आज प्रतिनिधिसभाको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाङफेले गर्ने छिन । सभामुखको अनुपस्थितिमा उपसभामुख तुम्बाहाङफेले बैठकको अध्यक्षता गर्न लागेकी हुन् ।
प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्न उपसभामुख तुम्बाहाङफेले १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी छिन् । समिति बैठक वा दलहरूबीचको अनौपचारिक बैठकबाट नेताहरुले बोल्ने नबोल्ने भन्ने विषय टुंगो लाग्ने संसद् सचिवालयले जनाएको छ ।
अधिवेशन सुरु भएपछि प्रतिनिधिसभा बैठकमा राष्ट्रपति भण्डारीबाट अधिवेशन आहृवानका लागि प्राप्त पत्र पढ्ने कार्यसूची तय भएको छ ।
त्यसपछि सभामुख कृष्णबहादुर महराले पदबाट दिएको राजीनामा पढेर जानकारी गराइने कार्यसूची रहेको महासचिव मनोहरप्रसाद भट्टराईले बताए ।
लगत्तैअघिल्लो अधिवेशन अन्त्य भएपछि निधन भएका ४ पूर्व सांसदको मृत्युमा शोक प्रस्ताव पारित गरिनेछ ।
असोज २ गते अघिल्लो अधिवेशन अन्त्य भएपछि पूर्वसांसदहरू हरि वैरागी दाहाल, रामेश्वर ढुंगेल, रामलखन महतो र कमला सुवेदीको निधन भएको थियो ।
२०५१ को निर्वाचनका प्रतिनिधिसभा सदस्य दाहालको असोज ३ गते, २०७० को दोस्रो संविधानसभा सदस्य सुवेदीको कात्तिक ९ गते, २०५१ को आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यको कात्तिक १५ गते र दोस्रो संविधानसभका सदस्य रामेश्वरप्रसाद ढुंगेलको पुस १ गते निधन भएको थियो ।
बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे राष्ट्रपति कार्यालयले पठाएको पत्र पनि पढेर सुनाइने कार्यसूची रहेको छ ।
