महोत्तरी: बृहत् निःशुुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराउन बिरामी जाडोमा ओढ्ने ओछ्याउने बोकेर आउनेक्रम जारी रहेको छ।

 

स्थानीय सोनमा गाउँपालिका–३ मा सञ्चालित शिविरबाट एक हप्तामा १६ हजारभन्दा बढी बिरामीले सेवा लिएका छन् । महोत्तरी लगायत सर्लाही, सिन्धुली, धनुुषा र सिरहादेखि यहाँ विरामी आउनेक्रम रोकिएको छैन ।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाली सेनाद्वारा संयुक्तरुपमा यहाँ सञ्चालित शिविरमा स्वास्थ्य सेवा प्राप्त गर्न पहुुँच कम भएका स्थानीयबासीका लागि बरदान सावित भएको छ ।

 

खखना माध्यामिक विद्यालयमा मङ्सिर २७ देखि शिविर सञ्चालित हुँदै आएको छ । हालसम्म १६ हजार ७४७ बिरामीलाई सामान्य उपचार सेवादेखि ठूलाखाले शल्यक्रियासम्मको उपचार सेवा प्रदान गरिएको सहायक रथी डा देवेन्द्रबहादुर खत्रीले जानकारी दिए ।

 

उनका अनुसार शिविरमा उपचार गर्न आउनुभएका बिरामीमध्ये २४३ जनाको सफल शल्यक्रिया गरिएको छ । शिविरमा दैनिक तीन हजारको सङ्ख्यामा उपचारका लागि अझै बिरामी आउनेक्रम जारी छ । शिविरबाट हालसम्म नौ हजार ५४३ महिला र सात हजार १५४ पुरुष बिरामी उपचार पाएका डा खत्रीले बताए ।

 

पुस ५ गतेसम्म शिविर सञ्चालन हुने कार्यक्रम बनाइएको छ । स्थानीयको मागमा शिविर एक दिन थप गर्ने सम्भावना रहेको बताइएको छ । उपचारका लागि शिविरमा तीन हजार बिरामीले अग्रिम नाम दर्ता गराइसकेका छन् । जचाउन आएकी स्थानीय ६२ वर्षीया काशीकुमारी देवीको पाठेघरबाट पाँच किलो तौलको ट्युमर निकालिएको छ ।

 

नवजात शिशुदेखि ९० वर्षसम्मका वयोवृद्धाले चिकित्सकबाट सेवा लिएका छन् । शिविरमा स्वास्थ्य परीक्षण गराउन महोत्तरी लगायत सर्लाही, सिन्धुली, धनुुषा र सिरहादेखि बिरामी जाडोमा ओढ्ने ओछ्याउने बोकेर आएका शिविर व्यवस्थापन समितिका प्रवक्ता अशोककुुमार यादवले जानकारी दिए ।

 

स्वास्थ्य परीक्षण गर्न आउने पुुरुषमा हर्निया, हाइड्रोसिल र पित्त थैलीको पत्थरीको समस्या देखिएको छ । महिलामा पाठेघर खस्ने समस्या बढी देखिएको सेनानी डा मनिष थापाले जानकारी दिए ।

शिविरमा प्रसूूति, बालरोग, दाँत, आकस्मिक सेवा, छाला, नाक, कान, घाँटी, छातीका साथै रेडियोलोजी, प्याथोलोजी, इको, इसिजी सेवा उपलब्ध छ । शिविरमा खटिएका स्वास्थ्यकर्मीको टोलीले सुन्दरपुर विद्यालयका विद्यार्थीलाई जुकाको औषधि खुवाउनुका साथै त्यस क्षेत्रका मुसहर र डोमबस्तीमा लामखुट्टे हटाउने औषधिसमेत छर्केका थियो ।

 

यसैबीच, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले संविधानको मौलिक हकमा लेखिएका स्वास्थ्य र शिक्षालगायतका विषय कार्यान्वयन गर्नु तीन तहका सरकारको कर्तव्य हुनाले त्यस कार्यमा लाग्नुपर्छ भने ।

 

शिविर निरीक्षण गर्न आउनेक्रममा सञ्चारकर्मीसंगको कुराकानीमा उनले भने, “सरकारको नीति तथा कार्यक्रममा हरेक तहकमा एउटा स्वास्थ्य चौकी राख्ने व्यवस्था गरेको छ । स्थानीय तहले त्यसको कार्यान्वयका लागि लाग्नुपर्छ । नेपाली सेनाले बेलाबेलामा ठाउँ विशेषमा अभियानका रुपमा शिविर सञ्चालन गरेर त्यसमार्फत जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने काम गरेको हो ।”

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version