काठमाडौं ः टोखामा तीन बालबालिकालाई बन्धक बनाइ फिरौती माग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलाली धनगढी घर भई बानेश्वर बस्ने २४ वर्षीय आशीष सिजापती र विनोद थापामगर छन् ।

उनीहरुले पोखरा गएकी एक महिलाका एक छोरा, एक छोरी र भान्जी नाता पर्ने बालिकालाई  गत मंसिर २८ गते अपहरण गरेका थिए। आफन्तको सामाखुसीस्थित कोठामा छोराछोरी राखेर ती महिला पोखरा गएकी थिइन् ।

त्यसको दुई दिनपछि मंसिर ३० गते सिजापतिले तिम्रो ममीले तिमीहरुलाई होटलमा लगी राख्नु भनेको छ भन्दै बिहान स्कुल जान लागेका बच्चाहरुलाई टोखास्थित होटल ब्लु स्टार को कोठा नं। ४०४ मा लगी बन्धक बनाएका थिए।

पछि बच्चाकै नम्बरबाट आमालाई फोन गरी ‘तिम्रो छोराछोरी मेरो कब्जामा छन्, ३ लाख दिएमात्र पठाउछु’ भनी धम्की दिएका थिए।

उक्त सूचना प्रहरीमा आएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले अस्ति बुधबार उनीहरुको उद्दार गर्नुका साथै अपहरणमा संलग्न सिजापतिलाई पक्राउ गरेको हो।

 

सिजापति चिनजानकै मान्छे भएको पाइएको छ। बच्चाहरुले उनलाई मामा भन्ने गरेका थिए।

होटल सञ्चालक विनोद थापालाई समेत प्रहरीले पक्राउ गरेको छ।

 

सिजापतिले अघिल्लो दिनमात्रै २ व्यक्तिलाई अपहरण गरी हेटौडा पुर्‍याएका थिए। अपहरित व्यक्तिको प्रहरीले उद्दार गरे पनि उनी भाग्न सफल भएका थिए। त्यसकै भोलिपल्ट उनले काठमाडौंमा अपहरण गरेको प्रहरीले जनाएको छ।

 

सिजापतिले बच्चाहरुको रेखदेखका लागि विनोद थापामगरलाई राखेको देखिएको प्रहरीले जनाएको छ।

उनीहरुविरुद्ध ७ दिनको म्याद थप भई अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version