काठमाडौँ : पछिल्ला दिनमा आर्थिक एवम् औद्योगिक नगरीका रुपमा स्थापित हुँदै गएको भैरहवा बुटवल क्षेत्रमा विद्युत्को माग बढ्दै गए पनि उद्योगीले मागेअनुसार ऊर्जा पाएका छैनन् । दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने अर्घाखाँची सिमेन्ट उद्योग, श्री स्टिलगायतले मागअनुसारको ऊर्जा नपाएपछि आफ्नै प्लान्ट राखेर उद्योग सञ्चालन गरिरहेका छन् ।

विद्युत् उपलब्ध गराउने नेपाल विद्युत् प्राधिकरणले सबस्टेशनको विस्तार तथा प्रसारण लाइन निर्माणको काम गरिरहेको भए पनि समयमा सम्पन्न हुन नसक्दा ती उद्योगले आफ्नै प्लान्टबाट विद्युत् उत्पादन गरेका छन् । अर्घाखाँची सिमेन्ट उद्योगले हाल प्राधिकरणबाट कूल १० मेगावाट विद्युत् लिइरहेको छ । सो उद्योगलाई थप १० मेगावाट विद्युत् आवश्यक परेको छ ।

“मागअनुसारको विद्युत् आपूर्ति नभएका कारण हामीले आफ्नै प्लान्ट सञ्चालन गरेका छाँै र अपुग विद्युत् उत्पादन गरेका छौँ”, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका सो उद्योगका सञ्चालक पुशपति मुरारकाले भन्नुभयो । प्राधिकरणले थप विद्युत् उपलब्ध गराउने वचन दिएको भन्दै उद्यमी मुरारकाले आगामी दिनमा उद्योग पूर्ण क्षमतामा चल्ने विश्वास व्यक्त गर्नुभयो ।

कूल रु सात अर्ब लगानीमा अर्घाखाँची सिमेन्ट उद्योग स्थापना भएको हो । उद्योगले सिमेन्ट उत्पादनमा नेपाली बजारको मागलाई सम्बोधन गर्नसमेत सहयोग पुगेको छ । उहाँले सबस्टेशन निर्माणका क्रममा रहेकाले निकट भविष्यमा नै थप विद्युत् प्राप्त हुने र उद्योगको क्षमता थप विस्तार गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो । प्राधिकरणले धकधहीमा सबस्टेशन निर्माण गरिरहेको छ ।

यस्तै श्री स्टिलका सञ्चालक राजेश अग्रवालले पनि विगत एक वर्षदेखि रुपन्देहीको धकधहीमा १२ बिगाहा क्षेत्रफलमा श्री स्टिल उद्योग सञ्चालनमा ल्याउनुभएको छ । उद्योगले दुई लाख ५० हजार मेट्रिक टन रड उत्पादन गर्ने क्षमता राख्दछ । तर प्राधिकरणको विद्युत् उपलब्ध नभएका कारण उद्योग आफँैले फरनेस आयलको प्रयोग गरेर छ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । उद्योगसम्म पुग्ने प्रसारण लाइन प्राधिकरणले निर्माण गर्दा लामो समय लाग्ने भएकाले आफूहरुले रु १० करोड खर्च गरेर प्रसारण लाइन निर्माण गरिरहेको र निकट भविष्यमा नै जोडिने अग्रवालले जानकारी दिनुभयो ।

विश्वस्तरीय रड उत्पादन गरेको दाबी गर्दै उद्यमी अग्रवालले विद्युत् उपलब्ध गराइदिन पटक पटक ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र प्राधिकरणलाई आग्रह गरे पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो । उद्योगले २४० कामदारलाई प्रत्यक्ष रोजगारी दिएको छ । उद्योगले आठ एमएमदेखि ४० एमएमसम्मको डण्डी उत्पादन गरिरहेको छ । पूर्णरुपमा स्वचालित प्रणाली जडान गरिएको सो उद्योगलाई थप विस्तार गर्ने लक्ष्य राखिएको छ । सरकारले आर्थिक समृद्धिको लक्ष्य राखेका सन्दर्भमा देशभित्रै उद्योगको विस्तार र प्रवद्र्धनका लागि थप विद्युत् उपलब्ध गराउनुपर्ने उद्यमी अग्रवालको भनाइ छ ।

भैरहवा तथा बुटवल आसपासका क्षेत्रमा नयाँ उद्योगसमेत थपिने क्रम बढेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेको तथा नेपाल–भारत सीमा क्षेत्रसमेत अन्य स्थानको तुलनामा थप व्यवस्थित रहेकाले पनि सो क्षेत्रमा उद्योग स्थापना गर्नेको सङ्ख्यामा वृद्धि भएको बताइन्छ ।

तातो हावाबाट विद्युत् नेपालमै पहिलो प्रयोग

अर्घाखाँची सिमेन्ट उद्योगले बाहिर फाल्ने तातो हावालाई प्रयोग गरेर विद्युत् उत्पादनसमेत गरिरहेको छ । मुरारका समूहले नवलपरासीमा स्थापना गरेको सो सिमेन्ट उद्योगको चिम्नीबाट फालिएको तातो हावालाई प्रयोग गरेर हाल दुई मेगावाट विद्युत् उत्पादन गरिएको छ । मुरारकाले भन्नुभयो, “नेपालको ऊर्जा क्षेत्रमा नयाँ प्रयोग गर्ने लक्ष्यका साथ हामीले पहिलो चरणमा दुई मेगावाट विद्युत् उत्पादन गरेका छौँ, दोस्रो चरणमा थप १.५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।”

सुधारिएको स्टिम इन्जिन प्रणालीबाट विद्युत् उत्पादन गर्ने प्रणाली चीनबाट आयात गरिएको हो । उद्योगबाट खेर जाने तातो हावालाई प्रयोग गरेर विद्युत् निकाल्ने प्रणाली जडान गरिएको पहिलोपटक भएको भन्दै उहाँले यसबाट अन्य उद्योगले समेत प्रेरणा लिएको बताउनुभयो । आफ्नो उद्योगलाई चाहिने विद्युत्मध्ये केही आफैँ उत्पादन गर्ने रणनीतिअन्तर्गत उक्त काम गरिएको उद्यमी मुरारकाको भनाइ छ ।

उद्योगबाट निस्केको तातो हावा खेर गइरहेको र वातावरणसमेत प्रदूषित भइरहेको छ । विद्युत् उत्पादन गर्ने प्रणाली जडान भएपछि वातावरणीय रुपमा कुनै समस्या नआएको उहाँको दाबी छ । चीन भ्रमणमा जाँदा यस्तो प्रविधि देखेपछि वाष्प (स्टिम) प्रविधिको प्रयोग गरी बिजुली निकाल्ने अठोट गरेको मुरारकाले बताउनुभयो ।

चीनमा वाष्प प्रविधिबाट ठूलो मात्रामा बिजुली उत्पादन गरिएको छ । उद्योगबाट निस्किएको तातो हावाले ‘स्टिम इन्जिन’ चलाउने र त्यसरी घुमेको इन्जिनले विद्युत् उत्पादन गर्ने प्रणालीलाई ‘वेस्ट हिट रिकभरी युनिट’ नाम दिइएको छ । नेपालमा हालसम्म यस्तो प्रविधिबाट विद्युत् उत्पादन गरिएको छैन । दोलखाको चर्नावती र पर्वतको मोदी हाइड्रो पावरमा लगानी गरेका मुरारकाले भन्नुभयो, “यस्तो पाइलटिङ सफल भएको छ, नेपालका अधिकांश सिमेन्ट उद्योगमा सहजै रुपमा विद्युत् उत्पादन गर्न तथा व्यावसायिक रुप दिन सहयोग मिल्नेछ ।”

सोही प्रणाली प्रयोग गरेर होङ्सी शिवम् सिमेन्ट उद्योगले समेत तातो हावाबाट विद्युत् उत्पादन गरिरहेको छ । नेपालमा जगदम्बा, मारुती, शिवमजस्ता निजी क्षेत्रका ठूला सिमेन्ट उद्योग सञ्चालनमा छन् भने सरकारी स्वामित्वका उदयपुर, हेटौँडा सिमेन्ट सञ्चालनमा छन् । ती उद्योगमा समेत यस्तो प्रणाली जडान गर्न सकिन्छ ।

पाकिस्तानको पञ्जाव प्रान्तमा रहेको घरिवल सिमेन्ट उद्योगले २० मेगावाट विद्युत् सोही प्रणालीबाट उत्पादन गरिरहेको छ । पाकिस्तानकै लक्की सिमेन्ट उद्योगमा समेत १० मेगावाट विद्युत् उत्पादन गरिएको छ । भारतको तेलङ्गनाको सागर सिमेन्ट उद्योगले छ मेगावाट विद्युत् उत्पादन गरेको छ । फिलिपिन्सको सिमेक्स सिमेन्ट उद्योगमा समेत चिनियाँ प्रविधि जडान गरी ४.५ मेगावाट विद्युत् उत्पादन गर्न लागिएको छ भने इन्डोनेसियाका सिमेन्ट उद्योगमा वेस्ट हिट रिकभरी युनिट जडान गरी ३० मेगावाट विद्युत् उत्पादन गर्ने प्रणाली जडान गरिएको छ ।

पाकिस्तानको राष्ट्रिय विद्युत् नियमन प्राधिकरणले वेस्ट हिट रिकभरी युनिट स्थापना गर्न र बढी भएको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जडान गर्नैपर्ने बाध्यकारी व्यवस्था लागू गरेको छ । सिमेन्ट उद्योगले फाल्ने हानिकारक कार्बन डाइअक्साइड नियन्त्रण गर्न र वातावरणको संरक्षण गर्नसमेत यस्तो प्रणाली संसारभर फैलने क्रममा रहेको ग्लोबल सिमेन्टले हालै प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version