काठमाडौं: उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपालका लागी इजरायली राजदूत बेन्नी ओमेरबीच भेटवार्ता भएको छ ।

उर्जा मन्त्रालयमा भएको भेटमा उर्जामन्त्री पुनले नेपालमा नयां संविधान जारी भइसकेपछि स्थायीत्वको युग सुरु भएको भन्दै इजरायली लगानीकर्तालाई उर्जा क्षेत्रमा लगानीको वातावरण बनाइदिन राजदूत ओमेरसंग आग्रह गरे ।

मन्त्री पुनले भने ‘हामीलाई १० बर्षमा १० हजार मेगावाट विजुलीको आवश्यकता छ अहिले लगानीको राम्रो वातावरण समेत बनेको छ । तपाईमार्फत नेपालको उर्जा क्षेत्रमा लगानी गर्न म इजरायली लगानीकर्ताहरुलाई आग्रह गर्छु ।’

उनले इजरायलसंग धेरै लामो कुटनितिक सम्बन्ध रहेको भन्दै आगामी दिनमा समेत सम्बन्ध अझ मजबूत बन्ने विश्वास समेत व्यक्त गरेका छन् । लामो समयदेखी दुई देशको बीचमा कृषी र प्रविधीका साथै अन्य विभिन्न क्षेत्रमा सहयोग र सहकार्य रहदै आएको भन्दै मन्त्री पुनले आगामी दिनमा उर्जा क्षेत्रमा सहकार्य गर्न सरकार ईच्छुक रहेको धारणा राखेका छन् ।

मन्त्री पुनले इजरायल नेपाली कामदारको लागी सुरक्षीत गन्तव्यको रुपमा रहेको भन्दै आगामी दिनमा पनि इजरायलले त्यसमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।

भेटमा इजरायली राजदूत ओमेरले उर्जा र सिंचाईको क्षेत्रमा सहकार्य गर्न इजरायल सरकार आंतुर रहेको बताए । उनले उर्जामा लगानीको लागी इजरायलले पार्टनर खोजिरहेको भन्दै त्यसका लागी सरकारलाई सहयोग गर्न आफुहरु तयार रहेको धारणा राखेका छन् ।

‘नेपालको जलविद्युतमा लगानी गर्न इजरायबाट निजी क्षेत्र आउन तयार छ, त्यसका लागी हामी पार्टनर पनि खोजिरहेका छौ ।’ भेटमा राजदूत ओमेरले भने । उनले विओटी मोडलमा काम गर्न इजरायल ईच्छुक रहेको बताए ।

नेपाल इजरायलको पुरानो साथी भएको भन्दै राजदूत ओमेरले आगामी दिनमा समेत नेपाल र इजरायलको बीचमा द्धिपक्षीय सम्बन्ध मजवूत बन्ने विश्वास व्यक्त गरे ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version