गाईघाट: गैरकानूनी रूपमा सिकार गर्ने कार्यले उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका तथा चौदण्डी गढीको पहाडी क्षेत्रको भिरपाखामा विगतमा पर्याप्त पाइने गरेको दुर्लभ पक्षी हुचिल हिजोआज यस क्षेत्रबाट लोप हुँदै गएको छ ।

 

बेलका नगरपालिकाको मैनामैनीको सुघाचरी भिरपाखाको बोपताङ डाँडाको भिरपाखा, चम्पाकोट पाखा तथा चौदण्डी गढी नगरपालिकाको कटुञ्जेबबला र चौदण्डीको पाखा पहरातिर व्यापक पाइने गरेको हुचिल हिजोआज गैरकानूनी रूपमा सिकार भएका कारण विस्थापित वा लोप हुँदै गएको चौदण्डी बबलाका रामबहादुर तामाङले बताए ।

 

“केही वर्षअघिसम्म चौदण्डीको कटुञ्जे बबलाको भिरपाखा तथा जङ्गल क्षेत्रमा हिउँद वर्षा दुवै याममा हुचिलहरु पर्याप्त पाउने गरेको थियो, तर केही वर्षयता आएर यसको सिकार हुन थालेको र केही मानिसले पासोसमेत थापेर मार्न थालेपछि हिजोआज हुचिल देख्न पाइन छाडेको छ”, तामाङले बताए । हुचिल सिकार गर्न सुनसरी र सप्तरी क्षेत्रबाट समेत केही सिकारी आउने गरेको र केही स्थानीयवासीसँग मिलेर सिकार गर्ने गरेको समेत तामाङले बताए ।

 

यस्तै बोपताङ डाँडापाखा क्षेत्र, चम्पाकोट तथा सुघाचरी भिरपाखाहरूमा समेत विगतमा धेरै सङ्ख्यामा हिउँद र वर्षा दुवै याममा हुचिलहरु बस्ने र सन्तानहरु वृद्धि गर्ने गरेको मैनामैनीका मानबहादुर राईले बताए । केही वर्षयता आएर ती क्षेत्रमा हुचिलहरु हराउँदै गएको र फाट्टफुट्ट कहिलेकाहीँ एक–दुईवटामात्र देख्न सकिने गरेको उनले बताए । मैनामैनीका हर्कशेर राईका अनुसार केही वर्षअघिसम्म यस क्षेत्रमा हुचिलहरु गाउँघरमा रातभरि नै कराउने, आउने र घुम्ने गर्थे । हिजोआज भने मासिँदै गएका कारण गाउँमा पनि कतै–कतैमात्र देख्न सकिन्छ । राई भन्नुहुन्छ, “हुचिल मार्न र पक्रन केही मानिस बाहिरबाट आउने र पासो थाप्ने गरेका कारण मासिन थालेका हुन्, उनीहरूले हुचिललाई जिउँदै पासोमा पारेर पक्रने र बाहिर लगेर बिक्री गर्छन् ।”

 

हुचिलका सिकार गर्नेहरुले एक जिउँदो हुचिललाई रु १५ हजारसम्ममा बिक्री गर्ने गरेको यस क्षेत्रका स्थानीयवासी नै बताउने गरेका छन् । बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापा भन्छन, “अहिले नगरपालिकाले बेलकामा दुर्लभ पन्छी गिद्ध र हुचिल संरक्षणको अभियान शुरु गरेको छ, अब हुचिलको समेत संरक्षणमा हामी लागेका छौँ, गैरकानूनी रूपमा यसको सिकार गर्नेलाई पत्ता लगाएर कारवाही गर्ने छौँ, हुचिलको लामो समयदेखि यस क्षेत्रमा बसोबास गर्ने राम्रो स्थान भएको कारण यसको संरक्षण गरिनेछ ।”

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version