ओखलढुङ्गा: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले समृद्धिको पहिलो आधार पर्यटन भएको बताउएका छन् । ओखलढुङ्गाको चण्डेश्वरी विमानस्थलको उद्घाटन गर्दै मन्त्री भट्टराईले नेपालको विविधता र नेपालीको पहिचान विश्वका लागि नमूना भएकाले पर्यटक ल्याएर विकासको लक्ष्यमा छिटो पुग्न सकिने बताएको हो ।

 

समृद्धिको पहिलो आधार नै पर्यटन भएकाले पर्यटकीय क्षेत्रको विकासमा सरकार लागिपरेको उनको भनाइ थियो । “अहिलेको सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियानमा छ । त्यो अभियानमा छिटो पुग्ने माध्यम भनेको पर्यटन हो । भ्रमण वर्ष २०२० ले केही सफलताका सङ्केतहरु देखाउनेछ”, उनले भने, “सरकारले सय गन्तव्य घोषणा गरेर केही पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा जुटेको छ । सङ्घ, प्रदेश र स्थानीय सरकार सबैले पर्यटकीय क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखौँ ।”

 

जिल्लाका सांसदसहितका जनप्रतिनिधि र पर्यटन व्यवसायीसँग केहीबेर अनौपचारिक अन्तरक्रियासमेत गर्नुभएका मन्त्री भट्टराईले ओखलढुङ्गा जिल्ला पर्यटकीय हिसाबले निकै सम्भावना भएको भन्दै पर्यटन प्रवद्र्धनका योजना अघि सार्न सुझाव दिएको छ । “यो विमानस्थललाई नियमित गरौँ । योजनाअघि सार्नुस् सरकारले पर्यटन विकास र प्रवद्र्धन गर्छ”, मन्त्री भट्टराईले भने, “नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन ओखलढुङ्गा जिल्लाका पर्यटकीय क्षेत्रलाई गन्तव्य सूचीमा राखिएको छ । विश्व समुदायलाई ल्याऔँ, हाम्रा गाउँ ठाउँका मनोरम दृश्यहरु देखाऔँँ ।”

 

मन्त्री भट्टराईले ओखलढुङ्गाको रुम्जाटार र चण्डेश्वरी दुवै विमानस्थलमा नियमित उडान गर्न पहल गरिने बताए । कार्यक्रममा सांसद यज्ञराज सुनुवारले चण्डेश्वरी विमानस्थल सञ्चालनमा आएपछि ओखलढुङ्गाका सबै गाउँ सुगम भएको बताए । जिल्ला सदरमुकामबाट टाढा र विकासमा पछि परेको भन्दै खिजीदेम्बा क्षेत्रलाई दुर्गम मानिने गरेको भए पनि अब जिल्लाका सबै गाउँ सुगम बनेको उनको भनाइ थियो । “यो क्षेत्रलाई दुर्गम भनिन्थ्यो । त्यो अब इतिहास भयो । वर्तमानमा सुगम भइसक्यो । भविष्यमा हामी विकसित गाउँ बनाउने अभियानमा छौँ ।” जिल्लाको पर्यटन प्रवद्र्धनमा अहिलेका सबै जनप्रतिनिधि र पर्यटन व्यवसायीहरु जुटेको बताउँदै सांसद सुनुवारले ओखलढुङ्गा जिल्लाका पर्यटकीय क्षेत्रहरु पर्यटकको प्रमुख गन्तव्यका रुपमा विकास गरिने बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version