ललितपुर: मुलुकको विभिन्न आठ जिल्लाका ४८ सामुदायिक विद्यालयमा डिजिटल माध्यमबाट अङ्ग्रेजी विषयको शिक्षण भइरहेको छ । निम्नवर्गीय परिवारका बालबालिकाको शिक्षामा सुधारका लागि सो शिक्षण प्रविधि अघि बढाइएको हो ।

‘सूचना सञ्चार र प्रविधिमा आधारित अङ्ग्रेजी भाषा शिक्षण सिकाइ’ नामक उक्त कार्यक्रम गत वैशाखदेखि सञ्चालन गरिएको नेपाल अङ्ग्रेजी भाषा शिक्षकको सङ्घ (नेल्टा) ले जनाएको छ ।

नेल्टा ललितपुरका अध्यक्ष गोकुल घिमिरे शर्माले भन्नुभयो, “विगतमा नेल्टाले पहिलो चरणमा डिजिटल शिक्षण पढाउने शिक्षकलाई एक दिनको सो विषयमा आधारित तालीम दिई देशका सात वटा सामुदायिक विद्यालयका कक्षा ३, ४ र ५ मा अध्ययनरत छात्र २० र छात्रा २० गरी ४० जना बालबालिकालाई आफ्नो कार्यालयमा अङ्ग्रेजी भाषाको पाठ्यक्रम अध्यापन गराइसकेको छ ।” गत वैशाखदेखि ललितपुरका छ वटा सामुदायिक विद्यालयमा पहिलो परियोजनाका रुपमा यी तीन वटा कक्षाका पाठ्यक्रमलाई डिजिटलाइट गरेर अनलाइन वा अफलाइन दुवैबाट पढाउन आरम्भ गरेको घिमिरेले जानकारी दिनुभयो ।

यस किसिमको शिक्षा प्रदान गर्ने शिक्षकले कक्षाकोठामा कुनै पुस्तक वा आवश्यक सामग्री बोकेर जानु नपर्ने शर्माले बताउनुभयो । स्थानीय सरकार मातहत रहेका नगर र गाउँपालिका जसको विद्यालयमा इमेल र इन्टरनेटको सुविधा छ । नेल्टासँग जसले सहयोगका लागि कुरा अघि बढाउछन्, यी विद्यालयमा गएर आफूहरुले सो शिक्षणको कार्यक्रम अघि बढाउने शर्माले बताउनुभयो ।

अति ग्रामीण भेगमा रहेका अङ्ग्रेजी भाषाको पहुँचबाट निकै पर रहेका विद्यार्थीलाई यस्तो किसिमको शिक्षाले निकै सहयोग पु¥याइरहेको विज्ञको बुझाइ छ । ग्रामीण भेगका तीन वर्षदेखि १६ वर्ष उमेरमुनिका बालबालिका जसको अङ्गेजी भाषासँग पहुँच छैन् त्यसलाई नेल्टाले निकै सहयोग गरिरहेको छ ।

गोदावरी नगरपालिकाले यस किसिमको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन रु छ लाख बजेट विनियोजन गरेको नगरप्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । उहाँले भन्नुभायो, “रु तीन लाख कार्यक्रमका लागि र अर्काे रु तीन लाख आवश्यक सामग्री खरीदका लागि दिएका हौँ ।

गोदावरीको किटिनी माध्यमिक विद्यालय, नवज्योति मावि, सरस्वती मावि र लेलेको सरस्वती मावि, वृद्ध मावि र पथप्रदर्शक माविमा यस किसिमको शिक्षण सिकाइ भइरहेको छ ।” गत वैशाखदेखि नेल्टाले पहिलो परियोजनाका रुपमा गोदावरी क्षेत्रका यी विद्यालयमा सो शिक्षण सिकाइ आरम्भ गरेको महर्जनले बताउनुभयो ।

यस किसिमको शिक्षण सिकाइलाई अघि बढाउन इन्टरनेट, ल्यापटप, प्रोजेक्टर र कम्प्युटरको व्यवस्था हुनु अति नै आवश्यक रहन्छ । यस किसिमको सिकाइमा डिजिटल बोर्डको प्रयोग गर्ने हुँदा बालबालिकालाई अध्ययन तथा अध्यापन गराउँदा चित्र, अनुवाद र शब्दकोषको समेत प्रयोग गरिन्छ । विद्यार्थीले कुनै वस्तुबारे बुझ्नुपर्दा पढेर मात्र नभई हेरेर पनि ज्ञान हासिल गर्न सक्नाले यी प्रविधि अपनाउने बालबालिकाको पढ्ने बानी निकै बढेको नेल्टाका पदाधिकारीले जानकारी दिनुभयो ।

सो किसिमको शिक्षण सिकाइ गोदावरीभित्रका छ वटा विद्यालयमा हप्ताको तीन दिन अनिवार्य हुने गरेको छ । शिक्षकको पेशालाई व्यवस्थित र मर्यादित गराउन सो सिकाइले निकै सहयोग गर्ने बताइएको छ । मुलुकको चार प्रदेशमा सो किसिमको अध्ययन र अध्यापन भइरहेको छ । नेल्टा एउटा विशुद्ध शिक्षक र विद्यार्थी वर्गको हकहितमा काम गर्ने गैर नाफामूलक संस्था हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version