काठमाडौं : आउने माघ १ गतेदेखि वाणिज्य बैंकहरुलाई विद्युतीय माध्यमबाट (गोएमएल) प्रतिवेदन पेश गर्न निर्देशन जारी भएको छ ।
नेपाल राष्ट्र बैंकले हिजो मंगलबार बैंक तथा वित्तीय संस्थाका नाममा निर्देशन जारी गर्दै शंकास्पद क्रियाकलापको सूचना दिन, जोखिम मुल्यांकन प्रतिवेदन पेश गर्ने र सम्पत्ती शुद्धिकरणसम्बन्धी व्यवस्थालाई प्रभावकारी बनाउन यस्तो व्यवस्था गरेको जनाएको छ ।
केन्द्रीय बैंकले २०७६ माघ १ गतेदेखि वाणिज्य बैंकहरुलाई विद्युतीय माध्यमबाट प्रतिवेदन पेश गर्नुपर्ने निर्देशन दिएको छ ।
साथै, आउने साल २०७७ साउन १ गते देखि बैंक तथा वित्तीय संस्थाहरुले विद्युतीय (गोएमएल) माध्यमबाट मात्रै प्रतिवेदन पेश गर्नुपर्ने भएको छ ।
बैंक तथा वित्तीय संस्थाले वित्तीय जानकारी इकाईमा पेश गर्नुपर्ने सीमा तथा शंकास्पद कारोबार र क्रियाकलापको प्रतिवेदनलाई कोर बैंकिङ प्रणालीमा अध्यावधिक गर्न यस्तो व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै हरेक बैंक तथा वित्तीय संस्थालाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्थाको संस्थागत तथा क्षेत्रगत जोखिम मूल्यांकनसम्बन्धी प्रतिवेदन ०७६ पुसभित्र पेस गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।
