काठमाडौं : उपसभामुख शिवमाया तुम्बाहाङ्फेले बिहीबार राजीनामा दिने तयारी गरेकी छन्। सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउन उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिन लागेकी हुन्।

संसद् सचिवालयले पुस १४ गते सभामुख निर्वाचनको तालिका बनाएको छ। सत्तारुढ नेकपाले सभामुख लिन तुम्बाहाङ्फेलाई राजीनामा गराउन लागेको हो। सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण नेकपाले उपसभामुख छाड्न लागेको हो।

उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएपछि सभामुख र उपसभामुख दुवै पद रिक्त हुनेछन्। दुवै पद खाली हुँदा ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गरि निर्वाचन प्रक्रिया सुरु गर्नेछन्। ‘उपसभामुखज्यूले भोलि (बिहीबार) राजीनामा दिने तयारी छ,’ उनको सचिवालय स्रोतले भन्यो, ‘भोलि (शुक्रबार) निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने भएकाले आजनै उपसभामुखज्यूले राजीनामा दिने तयारी गर्नुभएको छ।’ यौन दुव्र्यवहारको आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख रिक्त भएको हो।

उपसभामुखले राजीनामा दिएपछि निर्वाचन प्रक्रियासम्म ज्येष्ठ सदस्यका हैसियतले राजपाका सांसद महन्थ ठाकुरले प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्नेछन्।

नेम्वाङकै सम्भावना

नेकपाले भावी सभामुखबारे औपचारिक निर्णय गरेको छैन। पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले सभामुखबारे निर्णय गर्ने नेताहरू बताउँछन्। तर सभामुखमा पूर्वसभामुख सुवास नेम्वाङकै सम्भावना रहेको उनीहरू बताउँछन्। पुनःस्थापित प्रतिनिधिसभा, अन्तरिम व्यवस्थापिका, दुवै संविधानसभा र संविधान बनेपछिको रुपान्तरित संसद्मा नेम्वाङ सभामुख थिए। पार्टी र सरकारको स्पिरिट समात्न सक्ने, कानुन र संविधानका जानकार तथा अनुभवका कारण उनी नै सभामुख बन्ने सम्भावना रहेको नेकपाका नेता बताउँछन्।

महराको राजीनामालगत्तै आफू सभामुखमा इच्छुक नभएको सार्वजनिक अभिव्यक्ति दिएपछि पार्टीका अध्यक्षद्वयले सभामुखबारे नबोल्न निर्देशन दिएको नेम्वाङ बताउँछन्। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको रोजाइमा नेम्वाङ नै रहेको बालुवाटार स्रोत बताउँछ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version