काठमाडौं: गायिका आस्था राउतविरुद्ध प्रहरीले जिल्ला प्रशाशन कार्यालय काठमाडौंमा पक्राउ पूर्जी जारी गर्न माग गर्दै निवेदन दर्ता गरेको छ ।

 

महानगरीय परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले राउतविरुद्ध प्रशासनमा पक्राउ पूर्जी जारी गर्न माग गर्दै निवेदन दर्ता गरिएको उनले जानकारी दिएका छन् ।

 

जिल्ला प्रशासन कार्यालयबाट पक्राउ पूर्जी जारी भएपछि गायिका राउतलाई आजै पक्राउ गर्ने तयारी रहेको प्रहरीले जनाएको छ ।

 

अभद्र व्यवहार सम्बन्धी कसुरमा एक वर्षसम्म कैद र १० हजारसम्मको जरिवाना वा दुवै सजायको व्यवस्था रहेको छ ।

 

गायिका राउतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले विमानस्थल सुरक्षा कार्यालयमा शुक्रवार उजुरी दिएकी थिइन् ।

 

गायिका राउतले विहीवार विमानस्थलमा आफूमाथि महिला प्रहरीले अभद्र व्यवहार गरेको भन्दै सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत आक्रोश पोखेकी थिइन् । तर शुक्रवार सार्वजनिक भएको विमानस्थलको सीसीटीभी फुटेजपछि प्रहरी जवान श्रेष्ठले गायिका राउतविरुद्ध उजुरी दिएकी थिइन् ।

 

उनले अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा उजुरी दिएसँगै विमानस्थल सुरक्षा कार्यालयले तालुकदार कार्यालयल महानगरीय आयुक्तको कार्यालय रानीपोखरीमा उजुरीसहितको कागजपत्र पठाएको थियो ।

 

रानीपोखरीले सीसीटीभीको प्रारम्भिक अनुसन्धान गरी घटनाका सम्बन्धमा थप अनुसन्धान गरी मुद्दा प्रकृया अघि बढाउन महानरीय प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको थियो ।

 

महानगरिय प्रहरी परिसरका आयुक्त डीआइजी विश्वराज पोखरेलले आस्था राउत प्रकरणमा आवश्यक अनुसन्धान अघि बढाउन काठमाडौं परिसरलाई लेखि पठाइएको जानकारी दिएका थिए ।

 

महानरीय प्रहरी परिसर काठमाडौं श्रोतका अनुसार अनुसन्धान अघि बढाउनका लागि गायिका राउतलाई आज(आइतवार) नै नियन्त्रणमा लिने तयारी गरिएको छ ।

 

कार्यक्रमका लागि गायिका राउत भने भारतको सिक्किम पुगेकी छिन् । उनी आज नै नेपाल फर्कने कार्यक्रम रहेकोले उनलाई नियन्त्रणमा लिने तयारी प्रहरीको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version