काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

 

आइतबार अपराहृन बसेको नेकपा सचिवालयको बैठकले सो निर्णय गरेको हो । बैठकले एकमतले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए ।

 

त्यसअघि आइतबार विहान प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सापकोटालाई सभामुख बनाउने सहमति भएको थियो ।

 

यसैबारे जानकारी दिन नेकपाले सोमबार बिहान संसदीय दलको बैठक बोलाएको छ ।

 

सभामुखका उम्मेदवार अग्नि सापकोटा नेकपाको स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभा सदस्य हुन् । सापकोटासँग १५ वर्षको शिक्षण अनुभव र शिक्षक आन्दोलनको अनुभव छ ।

 

१० वर्षे जनयुद्धमा नेतृत्वको वरिपरि रहेर खेलेको भुमिका अनि ०६२/०६३ को जनआन्दोलनमा काठमाडौं उपत्यकाको कमाण्ड सम्हालेको र शान्ति प्रक्रियापछि दुईपटक मन्त्री बनेको अनुभव पनि सापकोटासँग छ ।

 

सिन्धुपाल्चोकको कुभिन्डेमा २०१६ साल फागुन २४ गते जन्मिएका सापकोटा राजनीतिमा आउनुअघि शिक्षक थिए । उनले १५ वर्षसम्म शिक्षण गरे । ७ बर्ष सिन्धुपाल्चोकको साँगाचोकस्थित जनजागृति माविको प्रध्यानाध्याकपक भएर सेवा गरे ।

 

सापकोटाको औपचारिक अध्ययन समाजशास्त्रमा स्नातकोत्तरसम्म हो । शिक्षण पेशामा रहँदा नै उनी कम्युनिस्ट पार्टीमा आवद्ध भए । ०२९ सालमा कम्युनिस्ट विद्यार्थी संगठनमा आवद्ध भएका सापकोटा ०३५ सालमा मोहन बैद्य नेतृत्वको नेकपा (चौम) को सदस्य भए ।

०३७ सालमा उनी शिक्षक संघर्ष समितिको सदस्य भए । जिल्ला अध्यक्ष, हुँदै पछि वामपन्थीहरुको साझा शिक्षक संगठनको महासचिवसम्म भए । विभिन्न आन्दोलनका क्रममा उनी दुई वर्ष जेल परेका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version