काठमाडौँ: सेयर बजार ओरालो लाग्नेक्रम आज मंगलबार पनि जारी रहेको छ । नेप्से परिसूचक दुई दशमलब ९१ अंकले घटेर १ हजार १९१ दशमलब ४७ अंकमा झरेको छ । हिजो सोमबार नेप्से परिसूचक शुन्य दशमलब ०७ अंकले घटेको थियो ।
आजको कारोबारमा सबैभन्दा बढी जीवन बिमा समुहको परिसूचक २७ दशमलब ६१ अंक र निर्जीवन बीमा २४ दशमलब ९५ अंक र होटल १७ दशमलब १८ अंकले घटेको छ ।
त्यसैगरी, पूँजी बजारको सबैभन्दा बढी हिस्सा ओगटेको बाणिज्य बैंक समूहको परिसूचक २ दशमलब २६ अंकले घटेको छ ।
यधपी, बित्त, जलबिधुत र विकास बैंक समूहको परिसूचक क्रमश: शुन्य दशमलब ७८ अंक, दुई दशमलब ९८ अंक र तीन दशमलब ११ अंकले बढेको छ ।
नेप्से परिसूचक संगै सोमबारको तुलनामा कारोबार रकममा पनि गिरावट आएको छ ।
आज नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३ हजार १८९ कारोबारबाट १६ करोड ७७ लाख ३९ हजार ६९७ रुपैयाँ बराबरका ५ लाख ७८ हजार ९३३ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
सोमबार नेप्सेमा ३ हजार ६६४ कारोबारबाट २९ करोड ६१ लाख ५६ हजार २५२ रुपैयाँ बराबरका १२ लाख ८४ हजार ९४४ कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने शुन्य दशमलब ५४ अंकले घटेर २५१ दशमलब ०८ अंक कायम भएको छ ।
