काठमाडौँ: तपाईं चिडियाखानाका वन्यजन्तु हेर्न कति समय लाइन बसेर टिकट काट्नुहुन्छ ? कहिलेकाहीँ त घण्टौँ कुर्नुभयो होला, तर अब यो झन्झटबाट मुक्त हुनुभएको छ । तपाईंले घरमै बसिबसी टिकट ‘बुक’ गर्न सक्नुहुन्छ ।

 

जावलाखेलमा रहेको सदर चिडियाखानाले अवलोकनकर्ताका लागि घरमै बसेर टिकट काट्ने व्यवस्था गर्न लागेसँगै दर्शकका लागि लाइन बस्ने समस्या टर्ने भएको हो । अवलोकनकर्ताको ध्यानलाई मध्यनजर गर्दै चालू आर्थिक वर्षभित्रै यस किसिमको व्यवस्था गर्न लागेको सदर चिडियाखानाले जनाएको छ ।

 

पहिलोपटक गर्न लागिएको यस कामका लागि चिडियाखाना व्यवस्थापन पक्ष अहिले अभ्यासरत रहेको चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवीप्रसाद पोखरेलले जानकारी दिए । अनलाइनबाट टिकट काट्ने व्यवस्थासँगै अवलोकनकर्ताको समय बचत हुनुका साथै कर्मचारी अभावको समस्या पनि टर्ने डा पोखरेलले बताए ।

 

टिकट काट्नका लागि भन्दै अहिले दैनिक पाँच कर्मचारी खटिएका छन् । तर आगामी दिनमा एक कर्मचारीले मात्रै अवलोकनकर्तालाई टिकट उपलब्ध गराउन सक्नेछन् ।

 

मुख्य आकर्षण

चिडियाखानामा ११९ प्रजातिका एक हजार ९८ जीव/जनावर छन् । मुख्य आकर्षणका रूपमा बाघ, भालु चितुवा, रेडपाण्डाजस्ता जनावर छन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।

 

पछिल्लो सयय काठमाडौँ उपत्यकामा कम हुँदै गरेको खुलास्थान र जीव÷जनावर हेर्ने चाहनाका कारण चिडियाखानामा आउने अवलोकनकर्तामा कुनै कमी आएको छैन । अवलोकनका लागि विदेशीका लागि रु ७५०, सार्क राष्ट्रका पाहुनाका लागि रु ५००, नेपालीलाई रु १५० र विद्यार्थी र ज्येष्ठ नागरिकका लागि रु ९० शुल्क निर्धारण गरिएको छ । वार्षिक ११ लाख दर्शक अवलोकन गर्न आउने यहाँ रु १५ करोडको आर्थिक कारोवार हुने गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version