ललितपुर : गोदावरी नगरपालिकाले पहिलो पटक नमूना कृषि परियोजना सञ्चालन गर्ने भएको छ ।
यहाँको वडा– १ गोदामचौरमा नगरपालिकाले सो परियोजना सञ्चालन गर्न लागेको हो ।
सो परियोजना सञ्चालन गर्न नगरपालिकाले गैरआवासीय नेपालीसँग जग्गाको माग गरिरहेको नगरपालिका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए ।
उनले भने “यस चालु आर्थिक वर्षको अन्त्यसम्म हामीले सो परियोजनाका लागि जग्गा पाउने भएका छाँै । आगामी आर्थिक वर्षको शुरुआती चरणमा यस परियोजनाअन्तर्गतको काम अघि बढाउने भएका छाँै ।”गोदावरीभित्रको उत्पादन बढाउन सो परियोजनाले ठूलो सहयोग गर्ने महर्जनले बताए ।
यसैगरी नगरपालिकाले देवीचौर क्षेत्रका समूहलाई लप्सी उत्पादनका लागि प्रविधिसहितको रुकम सहयोग गरेको र यहाँका डाँडामा लप्सी लगाउने योजना अघि बढाएको छ ।
साविकको गोदावरी क्षेत्रमा फूलखेतीलाई थप बढावा दिने, डुकुछापका केही समूहमार्फत गोलभेंडा खेतीलाई अघि बढाइरहेको र अन्य बाँकी वडामा माटो परीक्षण गरी भूगोल सुहाउँदो किसिमको वस्तु उत्पादन गरिने महर्जनले जानकारी दिए।
नगरपालिका गठन भएको झण्डै तीन वर्षमा गोदावरीले विभिन्न योजना अघि सारेको छ । नगरपालिकाले वडा नं १० बज्रबाराहीमा सय कोठाको आफ्नै भवन बनाउने कामलाई पनि तीव्रता दिएको छ ।
यहाँका वडा नं २ मा प्राविधिक शिक्षालय, वडा नं ३ साविकको गोदावरीमा गोदावरी कुण्ड, उद्यान, धर्मशाला र किरियापुत्री भवन, वडा नं ४ बडिखेलमा खानेपानी तथा वडा कार्यालयको भवन, तपेश्वर महादेव मन्दिर र तपेश्वर घरबास निर्माण, वडा नं ५ र ६ लेलेमा चिस्यान केन्द्र तथा ठूलो महादेव खोलामा बाँध निर्माण र ढुङ्गाखानी व्यवस्थापन, वडा नं ७ देवीचौरमा दृश्यावलोकनस्तम्भ निर्माण, वडा नं ८ डुकुछापमा स्मार्ट सिटीको अवधारणानुरुप एकीकृत बस्ती निर्माण, वडा नं ९ छम्पी र टीकाभैरवमा उद्यान, छम्पीदेवीमाईको मन्दिर पुनर्निर्माण, वडा नं १० मा गोदावरी रङ्गशाला निर्माण र वडा नं १३ झरुवारासीमा सामुदायिक नर्सरीलाई सञ्चालन गरी गोदावरीमा विभिन्न किसिमका बोटबिरुवा प्रवद्र्धन गर्र्ने कार्यक्रम अघि सारिएको महर्जनले बताए ।
“वडा नं ११ चापागाउँ, वडा नं १२ ठेचो र वडा नं १४ ठैवमा हामीले विशेष गरी यहाँको सांस्कृतिक, चाडपर्व, रीतिरिवाज, सम्पदा र बाजागाजा संरक्षणमा जोड दिँदै आएका छौँ,” उनले भने ।
नगरपालिका गठन हुनुपूर्व यहाँका विभिन्न आधारभूत आवश्यकता खानेपानी, स्वास्थ्य, शिक्षा र सडक निर्माणमा गोदावरीले धमाधम काम गरिरहेको छ ।
नगरपालिकाले गोदावरीका पाँच स्थान वडा नं २ बिसङ्खुनारायणथान, वडा नं ८ डुकुछाप, वडा नं ९ छम्पी, वडा नं १० मूलडोल र वडा नं ११ चारघरेमा डिपबोरिङको काम सम्पन्न गरी यहाँका जनतालाई सफा पानीको व्यवस्था गरिदिएको छ ।
गोदावरीले चालु आर्थिक वर्षमा यहाँका अन्य तीन स्थान वडा नं १ गोदामचौर, वडा नं १२ ठेचो र वडा नं २ विशङ्खुनारायणथानमा अर्को डिपबोरिङ गर्ने योजना अघि बढाएको छ ।
नगरपालिकाले जनतालाई आफ्नै नगर क्षेत्रभित्र स्वास्थ्य सुविधा उपलब्ध गराउन बज्रबाराही चापागाउँ अस्पताल सञ्चालन गरी २४ आँै घण्टा सुविधा दिन शुरु गरेको छ ।
यसअघिको नगरपरिषद्मा निर्णय भएअनुसार नगरपालिकाले अस्पताललाई औषधि खरीदका लागि रु १० लाख र सोबाहेकको खर्चका लागि रु २० लाख सहयोग गरेको थियो ।
गोदावरीमा रहेका १८ सामुदायिक स्वास्थ्य संस्थामा जनशक्ति र उपकरण व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक कदम चालिरहेको बताइएको छ ।
विद्यालय शिक्षा सम्बन्धमा नयाँ संविधानानुसार सङ्घीय ऐन नआइसकेकाले गोदावरीले केही नियमावली बनाएर काम गरिरहेको नगर उपप्रमुख मुना अधिकारीले जानकारी दिइन ।
नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत साविकको गोदावरीमा कूल तीन हजार क्षमताको अन्तरराष्ट्रिय सम्मेलन केन्द्र तथा नेपाल सरकारको कार्यक्रमअन्तर्गत धर्मशाला र सातदोबाटो–गोदावरी सडक निर्माणको काम धमाधम अघि बढिरहेको छ ।
