राजविराज: बुद्ध एयरले आउँदो माघ १८ गते शनिवारदेखि राजविराजबाट सातै दिन उडान गर्ने तयारी गरेको छ । उडान सेवा काठमाडौँबाट राजविराजका लागि ११ बजेर २५ मिनेटमा तथा राजविराजबाट काठमाडौँका लागि १२ बजेर २० मिनेटमा प्रस्थान गर्ने समय तालिका निर्धारण गरिएको बुद्ध एयर राजविराजका स्टेशन इञ्चार्ज अनिल राजवंशीले बताउनुभयो ।

नियमित उडानले पर्यटन प्रवद्र्धनका साथै भ्रमण वर्ष २०२० लाई सफल बनाउन मद्दत पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । यसअघि राजविराज विमानस्थलमा श्री एयरलाइन्सले साताको तीन दिन उडान सेवा दिँदै आएकामा बुद्ध एयरले भने सातै दिन एक÷एक उडान गर्ने भएको छ ।

प्रारम्भिक चरणमा बुद्धको ४७ सिट क्षमता भएको विमानले उडान भर्ने तथा यात्रुको चापलाई ध्यानमा राखी ७२ सिट क्षमताको विमानले उडान भर्ने औपचारिक जानकारी दिइएको छ ।

राजविराज विमानस्थल तत्कालीन यातायातमन्त्री गणेशमान सिंहले २०१६ सालमा शिलान्यास गर्नुभएको थियो । सप्तरीको विष्णुपुर गाउँपालिकास्थित रहेको राजविराज विमानस्थलमा एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइको पक्की धावनमार्ग निर्माण कार्य सम्पन्न गरी २०७५ जेठ १० गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्नुभएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version