काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘मिलेनियम च्यालेन्ज कर्पोरेस’ (एमसिसी) सम्झौताबारे राष्ट्रिय हितलाई ध्यानमा राखेर निर्णय गरिने बताएका छन ।

 

प्रेस सङ्गठन नेपाल, उपत्यका प्रदेश कमिटीका पदाधिकारीसँग आज आफ्नो निवास हात्तिवनमा कुराकानी गर्दै उनले एमसिसीलाई राष्ट्रिय हितका आधारमा हेरेर निर्णयमा पुगिने स्पष्ट पारे । गत पुस ७ गते सम्पन्न नेकपाको स्थायी कमिटी बैठकले सोबारे निर्णयको जिम्मेवारी पार्टीको सचिवालयलाई दिएको थियो ।

 

अमेरिकी सरकारसँगको उक्त सम्झौता अनुमोदनका लागि सरकारले सङ्घीय संसद्मा प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

नेकपाको स्थायी कमिटीमा सो सम्झौता अमेरिकाको हिन्द प्रशान्त रणनीतिको अङ्ग भएमा पारित हुन नहुने मत व्यक्त भएको थियो ।

 

सरकारले उक्त सम्झौता सो रणनीतिको अङ्ग नभएकाले अनुमोदन हुने जनाउँदै आएएको छ तर नेकपा नेतृत्वकै सरकार भएकाले पार्टीको सचिवालय बैठकको निर्णयपछि मात्रै अनुमोदनको प्रस्ताव अघि बढ्ने देखिएको छ ।

फरक प्रसङ्गमा उनले नेपालमा कम्युनिष्ट पार्टीको एकता र निर्वाचनबाट जनमत प्राप्तिसँगै शान्तिपूर्ण प्रतिस्पर्धा र उन्नत लोकतन्त्रको मार्गबाट नयाँ ढाँचाको वैज्ञानिक समाजवाद स्थापनाको लक्ष्यका साथ नेकपा अघि बढेको उल्लेख गरे । प्रवक्ता श्रेष्ठले भने, “क्रान्तिको यो नयाँ प्रयोगलाई विश्व समुदायले हेरिरहेको छ । कम्युनिष्ट र समाजवादी कित्ताले नेपालको क्रान्ति सफल भएमा त्यसको पाठ हुने दृष्टिले तथा पूँजीवादी र साम्राज्यवादी कित्ताले कम्युनिष्ट नेतृत्व स्थापित होला कि भन्ने शङ्काको दृष्टिले हेरिरहेको छ । त्यसकारण समृद्धि र समाजवादकोे कार्यभार पूरा गर्न हाम्रो ध्यान केन्द्रित हुनुपर्छ ।”

 

उनले आफूहरुले परम्परागत संसदीय गणतन्त्र वा कम्युनिष्ट शक्तिले सत्ता कब्जा गरेपछिको शासकीय अवस्थाबाट नभई एक्काइसौँ शताब्दीको नेपालको विशेषता र आवश्यकतानुकूल ‘समाजवादउन्मुख जनताको जनवाद’को नीतिका साथ अघि बढेको उल्लेख गरे ।

 

नेता श्रेष्ठले पार्टीमा गुट, उपगुट र व्यक्तिवाद नभई संस्थागत र पारदर्शिताका आधारमा निर्णय र कार्यान्वयन हुनुपर्नेमा पनि जोड दिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version