काठमाडौँ: विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार कोरोनाभाइरसको महामारीलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । मात्र एक हप्ताको अन्तरमा कोरोनाभाइरसबाट संक्रमितको सङ्ख्या १० गुणा वृद्धि भएपछि डब्लुएचओले यो घोषणा गरेको हो ।
यस भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २ सय १३ पुगेको छ भने शुक्रबार बिहानसम्ममा चिनियाँ स्वास्थ्य आयोगले यस रोगबाट संक्रमित हुनेको सङ्ख्या ९ हजार ६ सय ९२ पुगिसकेको बताएको छ । थप १ लाख २ हजार मानिसहरुमा यस रोगको परीक्षण भइरहेको छ ।
संयुक्त राष्ट्रको स्वास्थ्य एजेन्सीले अन्तर्राष्ट्रिय अपातकाललाई ‘असाधारण घटना’ भनेर परिभाषित गरेको छ जसमा अन्य देशलाई पनि जोखिम रहेको र सङ्गठित अन्तर्राष्ट्रिय प्रतिक्रयाको आवश्यकता रहेको उल्लेख गरिएको छ ।
ब्लुएचओले अन्य १८ देशमा ९८ जनामा यो भाइरसको संक्रमण देखापरेको बताएको छ । यसमा धेरै जसो संक्रमित चिनियाँ सहर वुहानबाट यात्रा गरेको पाइएको छ ।
जर्मनी, जापान, भियतनाम र अमेरिकाका ८ जना बिरामीमा भने मानिसबाट मानिसमा सरेको पाइएको छ ।
डब्लुएचओले यसअघि पाँच पटक यस्तो आपतकालको घोषणा गरेको थियो । सन् २००९ मा स्वाइन फ्लु, सन् २०१४ मा पोलियो, सन् २०१६ मा जिका र सन् २०१४ र १९ मा इबोला भाइरसको महामारी फैलिँदा यस्तो घोषणा गरिएको थियो । एजेन्सी
