काठमाडौँ:  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटी बैठकमा आज विभिन्न ११ समूहले आफ्नो प्रतिवेदन पेश गरिरहेका छन् । राष्ट्रियसभागृहमा जारी बैठकमा समूहगत छलफलपछि समूहले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रस्तावमाथि आफ्नो सुझाव प्रस्तुत गरिरहेका छन् ।

आज समूह–३ का नेता खिमलाल भट्टराई, समूह–४ का नेता जगन्नाथ खतिवडा, समूह–५ का नेता ठाकुर गैरे, समूह–७ का नेता पूर्णाकुमारी सुवेदी, समूह–१२ का नेता रेणु दाहालले समूहगत छलफल गरेर प्रतिवेदन पेश गरिसक्नुभएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । प्रतिवेदन पेश गर्दै नेताहरुले पार्टी, सरकार र नेतृत्वको कडा आलोचना गरेका छन् ।

 

यसैगरी आज नै समूह–१ बाट आनन्द पोखरेल, समूह–८ का नेता बिन्दा पाण्डे, समूह–१० का नेता महेश बस्नेत, समूह–११ का नेता राजेन्द्र राई, समूह–१४ का सुरेन्द्रकुमार कार्की र समूह–१५ का नेता हिमाल शर्माले पनि प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ । विभिन्न १५ समूहमा विभाजित केन्द्रीय सदस्यले बिहीबार राजनीतिक, साङ्गठनिक र विधान संशोधन प्रस्तावमाथि छलफल गरेर शुक्रबारदेखि बैठकमा आफ्नो प्रतिवेदन पेश गरिरहेका छन् ।

शुक्रबार समूह–२ बाट कमला रोका, समूह–६ बाट दीनानाथ शर्मा, समूह–१३ का नेता लेखनाथ न्यौपाने र समूह–९ का नेता भगवती चौधरीले आ–आफ्नो समूहको प्रतिवेदन पेश गर्नुभएको थियो । समूह नेताको प्रस्तुति सकिएपछि आइतबार पार्टी नेतृत्वले जवाफ दिने कार्यतालिका रहेको छ । नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठक यही माघ १५ गतेदेखि शुरु भएको हो । बैठकमा समूहबाट आएका टोली नेताको प्रस्तुति र नेतृत्वको जवाफ दिन यही माघ १९ गतेको समय निर्धारण गरिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version