काठमाडौँ : चीनमा कोरोना भाइसरको महामारी फैलिरहेका बेला त्यहाँबाट आउने तरकारीको भाउ पनि आकाशिन थालेको छ भने आयात नगन्य हुन थालेको छ ।
चीनमै खाद्यान्नको अभाव हुने अवस्था सिर्जना भइरहेका बेला त्यहाँबाट अन्य देशमा खाद्य सामग्री निर्यात बन्द प्रायः छ । चीनमा आयात हुँदै आएको सुकेको लसुन, सुकेको प्याज, स्याउ र नासपातीको आयात केही दिनयता ठप्प प्राय छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका उपनिर्देशक तथा प्रवक्ता विनय श्रेष्ठका अनुसार बजारमा केही समयअघि आयात भइ स्टकमा रहेका चाइनिज तरकारीको मूल्य बढेको हो ।
चीनमा आएको सुकेको लसुन यतिबेला प्रति केजी ५५० रुपैयाँमा किनवेच भइरहेको छ । त्यस्तै प्रति किलो सुकेको प्याज १२०, नासपाती २०० तथा स्याउ १५० मा विक्रि भइरहेको छ ।
चीनबाट सिधा कालीमाटी बजारमा आउने तरकारी बन्द भएपनि अन्य केही व्यापारीले भने यी तरकारीहरु नेपालमा भित्राइरहेको उनले बताए । जसका कारण कालाबजारीले त्यसको मूल्य बढाएको उनको भनाइ छ ।
अहिले टुकुचास्थित तरकारी बजारमा पनि चिनियाँ तरकारीको चर्को मूल्यका कारण तरकारी व्यापारी समेत मर्कामा पर्न थालेका छन ।
दुइ हप्ता अघि सम्म प्रति किलो २५० रुपैयाँ सम्ममा पाउने लसुन अहिले मूल्य वृद्दि भएर प्रति किलो ६०० रुपैयाँ पुगेको छ ।
नेपालले लसुन आयात गर्ने प्रमुख देश चीन हो । चीनसंगको नाकाहरु बन्द भए लगत्तै नेपाली बजारमा त्यसको प्रभाब प्रतक्ष्य रूपमा देखिन थालेका छन् ।
समाज कल्याण परिसदद्वारा संचालित इच्छुमति कृषि (तरकारी) बजारका ३७ वर्षीय तरकारी व्यवसायी उर्मिला पाण्डेका अनुसार अहिले लसुनको मूल्य प्रति किलो ६०० रुपैयाँमा कारोबार भैरहेको छ । उनका अनुसार सर्बसाधारणहरुले अहिले लसुनमा रोग आएको छ भन्दै लसुनको उपभोग कम गर्न थालेका छन् । होटेल व्यवसायीहरुलाई लसुन नभई नहुने भएर अहिले लसुनको उपभोक्ता होटेल व्यवसायीहरु बाहेक अरु खासै नभएको उनले बताईन ।
त्यस्तै अर्का २२ वर्षीय तरकारी व्यवसायी अर्जुन कुमार साहका अनुसार लसुनको मूल्य वृद्दि भैरहेको बेला कतिपय सर्वसाधारणले आफु जस्तै ब्यापारीहरुले भाउ बढाएको संका गर्ने गरेको दुखेसो व्यक्त गरे । थोक किन्न जादा पनि लसुन नपाउने समस्या रहेको उनले जानकारी दिए ।
४६ वर्षीय तरकारी व्यवसायी कृष्ण बहादुर खड्काले भने लसुनको मूल्य आकाशिएसंगै लसुनको ब्यापारनै बन्द गरेको बताए ।
४६ वर्षीय सबिना सापकोटा जस्तै महँगो भए पनि लसुन बिना तरकारी मननपर्ने भएकाले जसरि पनि लसुन उपभोक गर्न बाध्य भएको सुनाउछिन ।
