काठमाडौं: स्वास्थ्य मन्त्रालयले चीनमा रहेका नेपाली विद्यार्थीलाई बुधबारसम्ममा स्वदेश फर्काइसक्ने जनाएको छ।

उनीहरुलाई ल्याएर राख्ने सुरक्षित ठाउँको तयारी गरी स्वदेश फर्काउन दुई दिन लाग्ने स्वास्थ्य मन्त्रालयमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता तथा सहसचिव महेन्द्र श्रेष्ठले बताए।

‘मंगलबारसम्ममा ठाँउको प्रबन्ध मिलेपछि सम्भवत: बुधबार चीनमा रहेका नेपालीलाई स्वदेश फर्काइने छ’ उनले भने।

चीनबाट ल्याइने विद्यार्थीलाई राख्ने ठाउँ मंगलबार बेलुकासम्म टुंगो लगाउने श्रेष्ठले बताए । ‘ उनीहरुलाई राख्ने ठाँउ कहाँ उपयुक्त हुन्छ भन्ने कुरा सम्भवत: भोलि बेलुकासम्म टुंगो लाग्छ । त्यसपछि बुधबार त उहाँहरुलाई ल्याउन सकिन्छ सायद’ उनले भने ।

पाँच जना विज्ञको टोलीले शनिबारदेखि सुरक्षाका लागि निगरानीमा राख्‍न सम्भावित ठाउँहरू खोजेको र भोलिसम्म सो ठाउँ टुंगो लाग्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नेपाली सेनाको नवनिर्मित भवन, आर्मी ब्यारेक, सशस्त्र प्रहरी क्याम्प, सरकारका केन्द्रीय अस्पतालका हल, इचंगुनारायणमा सुकुम्बासीका लागि बनाइएको आवास, स्टाफ कलेज, भक्तपुरको नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र, कीर्तिपुरस्थित आयुर्वेदिक अस्पताल परिसर, बोडेस्थित कृषि तालिम केन्द्रमध्ये एक ठाउँमा राख्ने तयारी गरेको प्रवक्ता क्षेष्ठले बताए।

कोरोना भाइरसको संक्रमणको उत्पत्तिस्थल चीनको वुहानमा रहेका नेपाली विद्‍यार्थीले आफूहरुलाई स्वदेश फर्काउन माग गर्दै चीनस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् । तर नेपाल ल्याएर उनीहरुलाई राख्ने ठाउँको तयारी नहुँदा सरकारले ल्याउन सकेको छैन ।

सामान्यतया: कोरोना भाइरस संक्रमणको लक्षण दुई हप्तापछि देखापर्ने मानिन्छ । त्यसैले चीनबाट उद्दार गरिने विद्यार्थीलाई दुई हप्तासम्म ‘क्वारेन्टाइन’मा राख्न लागिएको हो ।

१४ जनाको कोरोना परीक्षण
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म १४ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । जसमध्ये एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने १० जनामा संक्रमण नभएको देखिएको छ । बाँकी ३ जनाको स्वास्थ्य परीक्षणको नतिजा आउन बाँकी छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version