भक्तपुर: विश्व सम्पदा सूचीमा सूचीकृत विश्व प्रसिद्ध ङातापोल्हँ अर्थात् पाँचतले मन्दिर जीर्णोद्धारका क्रममा मौलिक शैलीलाई मास्न नहुने विज्ञहरुले सुझाव दिएका छन् । भक्तपुर नगरपालिकाले उक्त मन्दिरको जीर्णोद्धार गरिरहेको छ ।

 

राजा भूपतिन्द्र मल्लले १७०२ सालमा निर्माण गरेको ङातापोल्हँ अर्थात् पाँचतले मन्दिर जीर्णोद्धारका क्रममा मन्दिरको सम्पूर्ण भागको राम्रोसँग प्राविधिक अध्ययन गरेर मौलिक रूप दिनुपर्ने सुझाव विज्ञहरूले दिएको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

 

नेपाल मजदूर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले नेपाल भूकम्पीय जोखिमको हिसाबले ११औँ स्थानमा रहेको हुनाले ङातापोल्हँ मन्दिरका लागि मौलिक प्रविधिका साथै स्थानीय गुणस्तरीय सामग्री प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले सम्पदा पुनःनिर्माण र जीर्णोद्धार गर्दा कामको गुणस्तर र आर्थिक अनुशासनलाई ध्यान दिँदै उपभोक्ता समितिअन्तर्गत काम गर्ने र मुख्यमुख्य सम्पदाको भूकम्पअघि र पछिको विस्तृत अध्ययन गरेर मात्र अगाडि बढ्नुपर्ने सुझाव दिए ।

 

वाग्मती प्रदेशका प्रदेश सदस्य सुरेन्द्रराज गोसाइँले यसरी नै हरेक ऐतिहासिक र पुरातात्विक सम्पदाको पुनःनिर्माण वा जीर्णोद्धार गर्दा सांस्कृतिक सम्पदाहरुको मौलिक नाम संरक्षण गर्नुपर्ने धारणा राखे ।

 

जीर्णोद्धारका क्रममा नगरपालिकाले सम्बन्धित विज्ञहरुसँग सुझाव सङ्कलन गर्ने क्रममा ङातापोल्हँ अर्थात् पाँचतले मन्दिरको परम्परागत मौलिकतालाई जोगाउन ध्यान दिनुपर्ने सुझाव आएको नगरपालिकाका प्रमुख प्रजापतिले जानकारी दिए । उनले ङातापोल्हँ ३१७ वर्षसम्म पनि जस्ताको तस्तै ठडिएर रहनु उत्कृष्ट प्रविधिको प्रमाण भएको बताउँदै भूकम्पपछिको भक्तपुरका सम्पदाको पुनःनिर्माणमा नगरपालिकाले मौलिक शैली र प्रविधिलाई जोड दिँदै पुरानै मौलिक स्वरूपमा जीर्णोद्धार गर्दै आएको बताए ।

 

विज्ञहरुको सुझावलाई ध्यान दिँदै मन्दिरमा अवस्थित हरेक वस्तुको क्षतिबारे अध्ययन र अनुसन्धान गर्दै अभिलेखीकरण गरेर अघि बढ्ने जानकारी दिँदै उहाँले पुनःनिर्माणका लागि काठको अभाव रहेकाले सरकारले सहजरूपमा राम्रो काठ समयमा उपलब्ध गराउनुपर्ने माग गरे ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version