काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पहुँचको विस्तारसँगै गुणस्तर सुधारमा लाग्न नेपाल टेलिकमको व्यवस्थापन र कर्मचारीलाई निर्देशन दिएको छ ।

 

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को १६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले प्रतिस्पर्धा र नयाँ चुनौतीलाई स्वीकारेर जनताको सेवामा समर्पित हुन आग्रह गरेको हो ।

 

मन्त्री बाँस्कोटाले गत वर्ष देशभर फोरजी सेवा पु¥याउने सङ्कल्प गर्दा नपत्याइए पनि हाल देशभर सो सेवा पुगेकामा खुशी व्यक्त गर्दै कम्पनीको स्वस्थ्य जीवनका निम्ति इमानदार भएर आफ्नो सम्पूर्ण क्षमता देशका लागि प्रयोग गर्न आग्रह गरे ।

 

वार्षिकोत्सवस्थलमा कम्पनीमा क्रियाशील एक कर्मचारी युनियनले विरोध जनाएकामा असन्तोष व्यक्त गर्दै मन्त्री बाँस्कोटाले प्रश्न गर्दै भने, “आमाको जन्मदिनका दिन मङ्गलधुन बजाउने कि शोकधुन बजाउने ? यो त गाईजात्रा देखियो । पञ्चायतको टालोजस्तो पहेँलो टालो बाँधेर विरोध गरिनु कुनै बहादुरी होइन, निराशाको सन्देश हो ।

 

मन्त्री बाँस्कोटाले लोकसेवा आयोगमा पुगेपछि टेलिकमको कर्मचारी विनियमावली आउने भएकाले विरोधका नाममा राजनीति नगर्न र राजनीति गर्नु छ भने पार्टी कार्यालयतिर जान सुझाव दिए । उनले भने, “अहिले सरकारले यो संस्थालाई कान्छा छोरा, छोरीजस्तै माया गरेको छ, यो बेलामा पनि उँभो लाग्न सकेन भने यो संस्था आफ्नो मलामी आफँै जान्छ । हामी यस्ता गाईजात्रा पन्छाउँदै देशको विकासमा लाग्नेछौँ ।”

 

विरोध प्रदर्शन गर्ने कर्मचारीप्रति कडा शैलीमा प्रस्तुत हुँदै मन्त्री बाँस्कोटाले भने, “रचनात्मक सुझावहरु ग्रहण गरिन्छ तर राजनीतिका लागि राजनीति सह्य हुन सक्दैन । अनुशासन र नियममा रहनुस् । अन्यथा यसको हिसाबकिताब राम्रैसँग राखिनेछ । चुनौती सम्झिए चुनौती सम्झिनुस् । राजनीतिका लागि राजनीति गर्ने विध्वांशात्मक विरोधलाई म पराजित गर्छु ।” असन्तुष्ट कर्मचारीलाई मन्त्री बाँस्कोटाको प्रश्न थियो, “के देशभरि फोरजी सेवा जानु हुँदैनथ्यो ? त्यसकारण तपार्ईंहरु दुःखी भए ? संस्थाको छवि माथि जान लागेको हो भनेर चिन्ता लागेको हो ?”

 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीलगायत सहभागी कार्यक्रममा उहाँले देशकै समृद्धिको कुरा गरेर हिँडेको सरकार दुई–चारजनाको विरोधबाट नहच्किने र गाईजात्रा पन्छाउँदै देशको समृद्धितर्फ अघि बढ्छ ।”

 

कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले देशका ७७ वटै जिल्लामा हालै फोरजी सेवा सञ्चालन गरेको, सूचना प्रविधि महामार्ग निर्माणको काम भइरहेको र राष्ट्र निर्माणमा सञ्चार क्षेत्रबाट अग्रणी भूमिका निर्वाह गरेको बताए ।

 

कार्यक्रममा टेलिकमको वार्षिकोत्सवसँग सम्बन्धित स्मारिका विमोचन गरिएको थियो भने विभिन्न सेवा र विधामा उत्कृष्ट सेवा प्रदायक र कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version