काठमाडौँ: बुधबारबाट दोलखाका स्थानीय बासिन्दाका लागि खुला भएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आइपीओमा जिल्लाबाट बसाईसराई गरि गएकाले सेयर भर्न नपाउने भएका छन् ।
आयोजनाका कम्पनी सचिब राम सुन्दर श्रेष्ठका अनुसार जिल्लाबाट बसाईसराई गरि गएका मानिसले आयोजनाको साधारण सेयरमा सहभागी हुन पाउने व्यवस्था छ ।
यधपी अन्य जिल्लाबाट बसाईसराई भई दोलखा जिल्लामा २०६४ साल माघ १५ गते भित्र आएकाले भने आइपीओमा आबेदन दिन पाउने श्रेष्ठले बताए ।
हाल दोलखा जिल्लाका दुई लाख ८२ हजार बासिन्दाले आयोजनाको जारी साधारण सेयरमा लगानी गर्न पाउने छन् ।
माथिल्लो तामाकोशी आयोजनाका लागि जिल्लाका बासिन्दाले पाउने गरी एक अर्ब पाँच करोड ९० लाख रुपैयाँ बराबरको एक करोड पाँच लाख ९० हजार कित्ता सेयरका लागि बुधबारदेखि आवेदन खुला गरेको थियो ।
स्थानीयबासीले यो आइपीओ भदौ १४ गतेसम्म दोलखा जिल्लामा विभिन्न बैंकहरुको १९ वटा संकलन केन्द्र र काठमाडौँमा बस्ने दोलखावासीका लागि सनराइज बैंकको ११ वटा संकलन केन्द्र निर्धारण गरेको छ ।
काठमाडौँमा बस्ने दोलखावासीले भने साउन २५ गतेसम्म मात्र काठमाडौँबाट आबेदन दिनसक्ने श्रेष्ठले बताए ।
‘शेयरमा सम्पूर्ण दोलखावासीको पहुँच पुगोस्’ भन्ने उद्देश्यका साथ माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले जिल्लाका स्थानीय तहका जनप्रतिनिधिलाई शेयरबारे प्रशिक्षणसमेत दिएको छ ।
उनका अनुसार लगानीकर्ताले न्यूनतम ३० देखि अधिकतम ३०० कित्ता खरिद गर्न पाउने गरी आवेदन दिन सक्नेछन् ।
बैंक तथा वित्तीय संस्थाका शाखा नभएका स्थानमा घुम्ती संकलन केन्द्र राखिने पनि जनाएको छ ।
स्थानीयलाई आउजाउ गर्न कठिनाइ हुने दुुर्गम स्थानमा स्वयंसेवक परिचालन गरी आवेदन संकलन गरिने कम्पनीले जनाएको छ । जिल्लाका बासिन्दालाई सेयर आवेदन भर्न ‘डिम्याट’ खाता अनिवार्य गरिएको छैन ।
तीन वर्षको लकिङ अवधि पूरा भएपछि भने लगानीकर्ताले अनिवार्यरुपमा डिम्याट खाता खोल्नुपर्नेछ । वैदेशिक रोजगारीमा गएका दोलखावासीको हकमा वेबसाइटबाट फारम डाउनलोड गरी हस्ताक्षर गरेर पठाएमा उनीहरुका परिवारका सदस्यले आवेदन बुुझाउन मिल्ने व्यवस्थासमेत गरिएको छ ।
आयोजनाले अति प्रभावित, कम प्रभावित र प्रभावितको सूची पनि तयार गरेको छ । अति प्रभावितमा (साविक लामाबगर र गौरीशंकर गाविस) स्थानीयले हरियो रंगको आवेदन फारम भर्नुपर्नेछ । सडक र प्रसारण लाइनले छोएको क्षेत्रका प्रभावित स्थानीयले नीलो रंगको आवेदन फारम भर्नुपर्नेछ । कम प्रभावितका लागि कालो रंगको आवेदन फारम तयार गरिएको उनले बताए ।
सेयर निष्काशन तथा बाँडफाँट गर्न नागरिक लगानी कोष र सनराइज क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको पनि कम्पनीले जनाएको छ ।
उनका अनुसार आयोजनाले बिदेशमा रहेका दोलखाका स्थानीय बासिन्दाका लागि पनि सेयर भर्न व्यवस्था गरेको छ ।
बिदेशमा रहेकाले आबेदन फारम डाउनलोड गरेर फारम भरि स्वयं आफैंले हस्ताक्षर गरेको फारम उसको परिवारको सदस्यले बुझाउन पाउने व्यवस्था रहेको कम्पनि सचिब श्रेष्ठले बताए ।
