काठमाडौं: नेपाल प्रहरीबाट स्वेच्छिक अवकाश लिएका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार खिउजुविरुद्ध जबरजस्ती करणी कसूरमा किटानी जाहेरी परेको छ । ललितपुर महांकालकी २१ वर्षीया युवतीले खिउजुविरुद्ध ललितपुर प्रहरी परिसर, जावलाखेलमा किटानी जाहेरी दिएकी हुन् ।
ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले अनलाइनखबरसँग कुरा गर्दै किटानी जाहेरी आएको पुष्टि गरे । उनले भने, ‘जाहेरी आएको छ यद्यपि, दर्ता भइसकेको छैन । तयारी गरिरहेका छौं ।’
स्रोतका अनुसार बुधबार साँझ ५ बजे पीडित युवती ललितपुर प्रहरीमा पुगेकी थिइन् । उनले किटानी जोहरी दिएलगत्तै प्रहरीले पाटन अस्पताल लगेर स्वास्थ्य परीक्षण गराएको छ ।
एसएसपी राईका अनुसार पीडितले पत्रकार राजु बस्नेतविरुद्ध पनि उजुरी दिएकी छन् । ‘घटनालाई मिलाउन धम्की दिएको भन्दै ठाडो उजुरी परेको हो’, उनले भने ।
बस्नेतलाई घटनालाई मिलाउन भन्दै आर्थिक प्रलोभन र दबाब दिएको पीडितको भनाइ छ ।
प्रहरी रिपोर्ट बनाउनका लागि ३० मंसिरमा महानगरीय प्रहरी वृत्त, चापागाउँ पुगेका बेला सहयोग गर्ने बहानामा आफूलाई एक्लै बनाएर कार्यकक्षमै जबरजस्ती गरेको पीडितको दाबी छ । ‘चिया खाने बहानामा ढोका लगाएर एक्लोपनको फाइदा लिएर ममाथि दुर्व्यवहार गर्नुभयो’, पीडितले भनेकी छन्, ‘ममाथि अन्याय गर्नुभयो भन्दा उल्टै मार्ने धम्की दिनुभयो ।’
पहिले गरेको गलत क्रियाकलापको तस्वीर समेत खिचेर आफूलाई ‘ब्ल्याकमेल’ गरेको पीडितको दाबी छ । त्यसपछि पटकपटक खिउजुले शारीरिक शोषण गरेको उनी बताउँछिन् । यसबारे उजुरी गर्न काठमाडौं प्रहरी परिसरमा पुग्दा पनि सहयोग नपाएको उनको गुनासो छ ।
यो घटनालाई लिएर पीडित युवती बिभिन्न प्रहरी उच्च अधिकारसम्म पुगेपछि खिउजुले डेढ महिनाअघि घरायसी कारण देखाउँदै राजीनामा दिएका थिए ।
हालै मात्र बलात्कार आरोपमा संघीय प्रहरी इकाइ कार्यालय धरानका एसएसपी सौरभ राणाले प्रहरीमा आत्मसमर्पण गरेका थिए ।
