मान्म: फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया शुरु भएको छ । जग्गा अधिग्रहण गर्न नेपाल सरकारले स्वीकृति प्रदान गरेपछि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीको जग्गा अधिग्रहणको प्रक्रिया शुरु भएको हो ।

 

जिल्ला प्रशासन कार्यालय कालीकोटले जलविद्युत् आयोजना निर्माण क्षेत्रमा पर्ने प्रभावितको जग्गा अधिग्रहणका लागि बुधबार सार्वजनिक सूचना प्रकाशन गरेको छ । बाँध निर्माणबाट डुबानमा पर्ने कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाको साविक रकु, स्युँना, मेहलमुढी, फुकोट, बदालकोट, नानीकोट र राम्नाकोट गाविसमा रहेका प्रभावितको जग्गा अधिग्रहणको प्रक्रिया थालनी गरिएको जिप्रका कालीकोटका सहायक प्रजिअ बमबहादुर नेपालीले बताए ।

 

“प्रशासनले आयोजनाको बाँध डुबान क्षेत्रमा पर्ने प्रभावितलाई जग्गाको मुआब्जा दावी गर्न आग्रह गरेको छ”, उनले भने, “३५ दिने हकदावीका लागि सूचना प्रकाशित गरिएको हो ।” आयोजना निर्माणका लागि एक हजार १४९ परिवारलाई जग्गाको क्षेत्रफलसहितको जग्गाधनीको प्रमाण पेश गर्न आह्वान गरिएको सहायक प्रजिअ नेपालीले बताए ।

 

आगामी छ वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको ४२६ मेगावाट क्षमताको सो आयोजना सरकारले ल्याएको ‘पानी जनताको लगानी कार्यक्रम’ अन्तर्गत निर्माण शुरु भएको आयोजना प्रमुख हिरावान वाइवाले बताए । “स्थानीय र नेपाल सरकारको लगानीमा यो आयोजना अगाडि बढ्नेछ”, उनले भने, “आवासगृह निर्माणका लागि सरकारले जग्गा अधिग्रहण स्वीकृति पहिले नै दिइसकेको थियो ।”

 

आयोजनास्थलमा पूरै जग्गा परेका जग्गाधनीले ७५ प्रतिशत र आंशिक जग्गा परेकाले ६६ प्रतिशत मुआब्जा पाउने आयोजना प्रमुख वाइवाले बताए । आयोजनाका लागि करीब रु एक खर्ब बजेट आवश्यक पर्ने आयोजनाले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version