हेटौँडा: वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अख्तियारलाई देखाएर काम नगर्ने परिपाटी बढेको बताउनुभएको छ । उहाँले विकास नचाहने यथास्थितिवादी सोच पालेका कर्मचारीका लागि अख्तियार ठूलो हतियार भएको बताउनुभयो ।

 

आयोगको २९ औँ स्थापना दिवसका अवसरमा आज आयोगको हेटौँडा कार्यालयमा अयोजित वार्षिकोत्सवमा मुख्यमन्त्री पौडेलले अख्तियार देखाएर कामै नगर्ने परिपाटी मौलाएर गएको भन्दै काम नगर्नु पनि भ्रष्टाचार हो भन्ने भावना विकास गरिनुपर्ने बताउनुभयो ।

 

मुख्यमन्त्री पौडेलले भ्रष्टाचार न्यूनीकरणका लागि सबैको हातेमालो आवश्यक भएको उल्लेख गर्नुभयो । उहाँले भ्रष्टाचार गर्नेलाई वाग्मती प्रदेशमा स्थान नहुने भन्दै त्यस्ता कर्मचारी वा जोसुकैलाई पनि कारवाही गर्न निर्देशन दिनुभयो । मुख्यमन्त्री पौडेलले भ्रष्टाचारमुक्त प्रदेश बनाउन आफू र प्रदेश सरकार टिम लागि परेको बताउनुभयो ।

 

कार्यक्रममा आयोगको कार्यालय, हेटौँडाका प्रमुख शिवकुमार कार्कीले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा १५ वटा ‘स्टिङ अपरेशन’ गरिएको जानकारी दिनुभयो । उहाँले स्थानीय तहमा भ्रष्टाचार बढेको बताउनुभयो ।

 

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, वाग्मती प्रदेशका प्रमुख सचिव तोयम राय, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशका अध्यक्ष प्रताप विष्ट आयोगको हेटौँडा कार्यालयका सिनियर डिभिजन इञ्जिनीयर अखण्ड शर्मालगायतले भ्रष्टाचार कम गर्न सामूहिक प्रतिबद्धताको आवश्यकता रहेको बताउनुभयो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version