बागलुङ: गलकोट नगरपालिका–५ टेउवामा आउँदो सोमबारदेखि अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला शुरु हुँदैछ । कार्यशालाको तयारी अन्तिम चरणमा पुगेको आयोजक गलकोट कला प्रतिष्ठानले जनाएको छ ।

 

कार्यशालास्थलमा आवश्यक पूर्वाधार तयार गरी व्यवस्थापकीय काममा लागिएको प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले बताए । कार्यशालाका लागि विदेशी कलाकार नेपाल आउने क्रम शुरु भएको र जापानका मूर्तिकार जुन इचिरो सुगिमोतो काठमाडौँ आइसकेको उनको भनाइ छ । कार्यशालामा १० विदेशीसहित १५ मूर्तिकारले भाग लिँदैछन् । “कार्यशालास्थलमा ११ देशका झण्डा फहराइएको छ, मूर्ति कुँद्ने ढुङ्गा तयारी अवस्थामा छन्”, अध्यक्ष रानाले भने, “कलाकारको आवासका लागि अस्थायी टेन्टको व्यवस्था गरिएको छ ।”

 

कलाकारको भोजनका लागि पोखरादेखि दुई तालीमप्राप्त ‘कुक’ बोलाइएको प्रतिष्ठानले जनाएको छ । सडक, भवन, शौचालय खानेपानी, बिजुली, सवारी राख्ने ठाउँलगायतका संरचना यसअघि नै बनिसकेका छन् । पाँच नेपाली र १० विदेशी गरी १५ कलाकारले १५ दिनसम्म टेउवामा बसेर मूर्ति कुँद्नेछन् ।

 

मूर्तिकारलाई सघाउन नेपालका पाँच र भारतका पाँच गरी १० सहयोगी मूर्तिकार पनि कार्यशालामा आउँदैछन् । अन्तर्राष्ट्रियस्तरको खुला मूर्तिकला सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ एवं कार्यशाला मूल समारोह समितिका संयोजक मूर्तिकार ओम खत्रीले बताए ।

 

अन्तर्राष्ट्रियस्तरमा ख्याति आर्जन गरेका मूर्तिकारहरुले सिर्जना गरेका मूर्तिकलाका कृतिहरु सङ्ग्रहालय बनाएर राख्ने प्रतिष्ठानको योजना छ । कलाप्रेमीसहित सर्वसाधारणले पनि कार्यशालाको प्रत्यक्ष अवलोकन गर्न पाउने व्यवस्था मिलाइएको छ । कार्यशालामा नेपालबाट मूर्तिकार प्रवीणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिथाकोटेले भाग लिनेछ । यस्तै जुन इचिरो सुगिमोतो (जापान), लिउ याङ्ग (चीन), बिटिनो फ्रान्सेनी (इटाली), जिवियर्स गोँजालेज (फ्रान्स), लिनलि जेन (ताइवान), जुली ग्ल्यास्पी (क्यानाडा), टुटु पटनायक (भारत), तान्या प्रिमिङ्गर (इजरायल), जर्ज लुइज (ब्राजिल) र युक्रेनका मूर्तिकार ल्युड्मेलले कार्यशालामा भाग लिने जनाइएको छ ।

 

कार्यशालामा सहभागिताका लागि अन्तर्राष्ट्रियस्तरमा आवेदन माग गरिएको थियो । प्रतिष्ठानका अनुसार कार्यशालामा भाग लिन देश विदेशका गरी २०५ मूर्तिकारले आवेदन दिएका थिए । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय ललितकला विभागका सहप्राध्यापक हृदयबल्लभ पाण्डेसहितको विज्ञ समूहले मूर्तिकारको छनोट गरेको हो ।

 

कलाकारले कार्यशालामा बसेर राजनीतिक दलका नेता, धार्मिक गुरु, देवीदेउता र आफ्नो देशको संस्कृति झल्कने मूर्ति कँद्न पाउने छैनन् । मानव सभ्यता, वेषभूषा, प्रकृति आदि विषयमा प्रतिकात्मक मूर्ति बनाउनेछन् । आर्थिक वर्ष २०७३÷७४ देखि कार्यशालाका लागि तयारी अगाडि बढेको थियो । हालसम्म पूर्वाधार निर्माणमा रु ८६ लाख ९३ हजार खर्च भइसकेको छ । कार्यशाला सम्पन्न गर्दासम्म थप रु एक करोड ४१ लाख ७८ हजार खर्च हुने प्रतिष्ठानले जनाएको छ । कार्यशालाको खर्च झण्डै रु दुई करोड ३० लाख नाघ्ने देखिएको छ ।

 

कार्यशालाका लागि गत आवमा सङ्घीय सरकारबाट रु ५० लाख र गण्डकी प्रदेश सरकारबाट रु ४० लाख बजेट छुट्टिएको थियो । गलकोट नगरपालिकाले पनि रु तीन लाख बजेट विनियोजन गरेको थियो । नगरको बजेटबाट कार्यशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । चालू आवमा गण्डकी प्रदेश सरकारले रु ३० लाख, प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलको निर्वाचन क्षेत्रको बजेटबाट रु १० लाख र प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा ‘सागर’बाट रु पाँच लाख सहयोग प्राप्त भएको छ ।

 

यस्तै व्यक्तिगततर्फ स्थानीय भीमकुमारी काउचाबाट रु पाँच लाख, पूर्णबहादुर रानाबाट रु तीन लाख, तिलबहादुर खत्रीबाट रु तीन लाख, शान्ति श्रीषबाट रु तीन लाख, दलबहादुर पुनबाट रु एक लाख १० हजार, यमबहादुर श्रीषबाट रु एक लाख र फमलाल न्यूरेबाट रु एक लाख प्राप्त भएको जनाइएको छ ।

 

स्वतःस्र्फूतरूपमा सहयोग जुट्ने क्रम जारी छ । कार्यशालाका लागि स्थानीय कुलबहादुर बस्नेत, झङ्कबहादुर बस्नेत, मानबहादुर खत्री र टीकाकुमारी खत्रीले करीब रु ३० लाख मूल्य बराबरको २३ रोपनी जग्गा निःशुल्क दिनुभएको थियो । फागुन २१ गतेसम्म सञ्चालन हुने मूर्तिकला कार्यशालाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नुहुने भएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version