काठमाडौँ: संघीय संसद राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनको सूचना कांग्रेसले संसद सचिवालय र सभामुख अग्नि सापकोटालाई जानकारी गराएसंगै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा आज गर्ने भनिएको सम्बोधन स्थगित हुने भएको छ।

सरकारको २ वर्ष पुगेको अवसरमा प्रम ओलीले यसबीच भए गरेका कामको बारेमा संसदमार्फत जानकारी गराउने कार्यक्रम रहेको थियो। आजको बैठक स्थगित हुनेभएपछि प्रधानमन्त्रीले अर्को बैठकमा मात्रै आफ्ना धारणा राख्ने छन्।

कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले सांसद उपाध्यायको शुक्रबार बिहान निधन भएको जानकारी गराइएको बताइन् ।

उनले कार्यव्यवस्था परामर्श समितिमा पनि उक्त कुरा राख्ने जानकारी दिइन्। बहालवाला सांसदको निधन भएकाले शुक्रबार २ बजेका लागि बोलाएको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित हुने जानकारी सभामुख निकट स्रोतले जानकारी दिएको छ।

संसद सचिवालयका सचिव गोपलानाथ योगीका अनुसार बहालवाला सांसदको निधनमा शोक प्रस्ताव पारित गरेर संसद बैठक स्थगित गर्ने निर्णय यसअघि भएको थियो। ‘बहालवाला सांसदको निधनमा संसद बैठक बसेर शोक प्रस्ताव पारित गर्ने र स्थगित गर्ने कार्यव्यवस्था परामर्श समितिले यसअघि नै निर्णय गरेको छ। पूर्व सांसदको निधनमा भने संसद बैठकको अन्तिममा शोक प्रस्ताव पारित गरेर स्थगित गर्ने चलन छ,’ उनले भने।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version