कास्की: अन्तरराष्ट्रिय टेनिस फेडेरेशन (आइटिएफ) को विश्व वरियता जुनियर यु–१८ टेनिस प्रतियोगितामा नेपाली खेलाडीले पहिलोपटक उपाधि जित्न सफल भएका छन् । नेपालका प्रेरणा कोइरालाले यु–१८ सर्किट दुईको प्रतिष्पर्धामा महिला एकलतर्फ उपाधि जित्न सफल हुनुभयो ।

कास्की जिल्ला टेनिस सङ्घको आयोजना तथा अन्तरराष्ट्रिय टेनिस महासङ्घको समन्वयमा पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा माघ २७ गतेदेखि शुरु भएको प्रतियोगिताको आज सम्पन्न अन्तिम खेलमा नेपालको राष्ट्रिय वरियतामा शीर्ष स्थानमा रहनुभएका कोइरालाले नेपालकै अभिलाषा विष्टलाई ६–२, ६–७ (४), ६–१ को सेटमा पराजित गर्दै महत्वपूर्ण ३० अङ्क जोड्न सफल हुनुभयो ।

कोइरालाले भारतीय खेलाडी गर्जी पावर र विष्टले सिङ्गापुरका डेन्ना चोलाइ सेमिफाइनलमा पराजित गर्दै पहिलोपटक फाइनलमा स्थान पक्का गर्न सफल हुनुभएको थियो । त्यसैगरी पुरुष एकलतर्फ भारतका अमन धहियाले उपाधि हासिल गर्नुभयो । पुरुषतर्फ उहाँले भारतकै सिद्धार्थ जैसविनलाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गरी उपाधि ३० अङ्क प्राप्त गर्नुभएको हो ।

त्यसैगरी महिला र पुरुष डवल्सतर्फको दुवै विधामा भारतीय खेलाडीहरुले उपाधि जित्न सफल हुनुभयो । पुरुषतर्फ आदित्य रोय र जस्विन टिडानाको जोडीले अमनलइया र हिरक बोहोराको जोडीलाई ६–३ र ६–३ को समान सेटमा पराजित गरी उपाधि हासिल गर्नुभयो । महिलातर्फ भारतका रिया अभेजा र एरिका कन्हागीको जोडीले उदय शाह र गारगी पावरको जोडी माथि २–६, ६–४ र १२–१० को सेटमा जित हासिल गर्नुभयो ।

प्रतियोगितामा विभिन्न ११ देशका पुरुष ३२ र महिला ३२ गरी ६४ जना खेलाडीले प्रतिष्पर्धा गरेका थिए । विजेता खेलाडीहरुलाई नेपाल टेनिस सङ्घका अध्यक्ष ज्योति राणा, उपाध्यक्ष विनोद कायस्थ, प्रतियोगिता संयोजक एवं कास्की जिल्ला टेनिस सङ्घका सल्लाहकार सूर्य भुजेललगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version