काठमाडौं : कमिसनकाण्डपछि पदबाट राजीनामा दिएका निर्वतमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

 

अभियानकर्मीहरु विजयबाबु सिवाकोटी र प्रतिम सुवेदीले बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।

सेक्युरिटी प्रेस खरिदका लागि ठेक्का पारिदिने प्रलोभनमा विदेशी कम्पनीका एजेन्टसँग कमिसन (घुस)को मोलमोलाई गरेको अडियो प्रमाणलाई आधार बनाएर बाँस्कोटाविरुद्ध अनुन्धानको माग गर्दै उजुरी दर्ता गरिएको हो ।

 

उजुरीमा बाँस्कोटाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा  (१) अनुसारको कसुर गरेको दाबी गरिएको छ । बाँस्कोटाले १ करोड रुपैयाँभन्दा बढी रकम घुस लिन खोजको दाबी गर्दै उनीविरुद्ध १० वर्षसम्म कैद सजाय हुने गरी अनुसन्धान गर्न माग गरिएको छ ।

 

उजुरीमा भनिएको छ, ‘गोकुल बाँस्कोटालाई भ्रष्टाचारको कसुरमा छानबिन गर्ने प्रस्ट आधार देखिने भएकाले निज उपर आवश्यक छानबिन गरी यस ऐनमा भए बमोजिम हदैसम्मको कारबाहीका लागि प्रक्रिया शुरु गरि पाउँ ।’

 

उजुरीकर्ता शिवाकोटी र सुवेदीले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि छानबिन गर्न माग गरेका छन् ।

बाँस्कोटाले घुस रकमको बार्गेनिङ गरेको भिडियो २ महिना अगाडि नै सुनेपनि उनीविरुद्ध कुनै कारबाही नगरेको देखिएकाले ओलीमाथि छानबिन आवश्यक रहेको उजुरीकर्ताको दाबी छ ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४४ मा भएको व्यवस्था उल्लंघन गरेको उजुरीकर्ताहरुले दाबी गरेका छन् ।

 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४४ मा ‘कुनै सरकारी निकाय तथा सार्वजनिक संस्थाको प्रमुखले आफ्नो वा आफ्नो मातहतका कुनै कार्यालयमा भ्रष्टाचार भएको छ भन्ने कुनै जानकारी प्राप्त हुन आएमा तत्काल त्यस्तो विषयसंग सम्बन्धित कागजात तथा फाइल आफ्नो जिम्मामा लिई सुरक्षित राख्नु पर्नेछ र त्यस्तो विषयसंग सम्बन्धित व्यक्ति तथा कर्मचारीहरूसंग वास्तविक कुरा बुझी भ्रष्टाचार भएको देखिने कारण भएमा त्यस्तो कागजात अनुसन्धान तथा तहकिकातका लागि सम्बन्धित निकायमा पठाउनु पर्नेछ ।’ भनी उल्लेख गरिएको छ । तर, प्रधानमन्त्री ओलीले भ्रष्टाचार हुँदैछ भन्ने सूचना पाउँदा पनि त्यसलाई रोक्न कुनै कदम नचालेको देखिएको उजुरीकर्ताहरुको भनाइ छ ।

 

सेक्युरिटी प्रेसको ठेक्का बोलकबोल गर्ने प्रयोजनका लागि निर्वाचनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले स्वीस कम्पनी केबीए–नोटासिसका एजेन्ट विजयप्रकाश मिश्रसँग ७० करोड रुपैयाँ कमिसन मागेको अडियो क्लिप सञ्चारमाध्यममार्फत सार्वजनिक भएको थियो ।

 

अडियो सार्वजनिक भएसँगै बाँस्कोटाले बिहीबार मन्त्री पदबाट राजीनामा दिएका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version